काठमाडौं, १६ वैशाख । सरुवा भएका सरकारी कर्मचारीले प्रदेश र स्थानीय तहमा हाजिरगर्न नपाएको रहस्य खुलेपछि सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयमा आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारीगर्दै पठाइएका कर्मचारीलाई तत्काल हाजिर गराइ र सरुवा भएका कर्मचारीलाई रमानादिई आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालय तथा मुड्केचुला गाउँपालिकासँग विवरण मागेको जनाएको छ ।
मन्त्रालयले कर्मचारीलाईसमेत तीन दिनभित्र अनिवार्यरुपमा हाजिर हुन तथा रमानालिन निर्देशन दिएको छ । मन्त्रालयले विभिन्न स्थानमा खटाइएका कर्मचारीहरु हालसम्म कार्यस्थलमा नपुगेको गुनासो आएपछि सूचना निकालेको हो । सूचनामा तोकिएको समयभित्र हाजिर नभए कानुन बमोजिम कारवाही प्रक्रिया अघिबढाइने भनिएको छ ।