तेहरान, १४ वैशाख । इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताउनुभएको छ । उहाँले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनीप्रति संकेतगर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोनवार्तामा भन्नुभयो, “दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता हुन सक्दैन ।” कुराकानीका क्रममा उहाँले अमेरिकाले लगातार सम्झौताको उल्लङ्घन गरिरहेको र वार्ता र युद्धविरामको क्रममा दबाबको नीति अपनाइरहेको आरोप लगाउनुभयो ।
अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन भएको र यस्ता कार्य र धम्कीपूर्ण भनाइले शान्ति प्रक्रियामाथिको विश्वासलाई कमजोरपार्ने इरानका राष्ट्रपति पेजेश्कियानले बताउनुभयो ।
पेजेश्कियानले इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षागर्न पूर्णप्रतिबद्ध रहेको र अमेरिका वा इजरायलको कुनै पनि नयाँ टकरावको अवस्थाले क्षेत्रीय र विश्वव्यापी स्थिरतालाई असरगर्ने गम्भीर परिणाम हुनसक्ने बताउनुभयो । उहाँले इरानले आफ्ना छिमेकी देशहरुसँग राम्रो सम्बन्ध र आपसी सम्मानका आधारमा सम्बन्ध बलियो बनाउन चाहेको पनि बताउनुभयो । यी देशहरुले बाह्य हस्तक्षेपबाट टाढा रहेर क्षेत्रीय शान्ति र सुरक्षालाई बलियो बनाउन सहयोगगर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस, एएफपी