काठमाडौं, १४ वैशाख । नेपालमा अन्तराष्ट्रिय फोटो सम्मेलन गरिँदै छ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न भएको छ । हिजो काठमाडौंमा विभिन्न कार्यक्रमगरी दिवस मनाइएको हो । उक्त अवसरमा संस्थाले प्रकाशन गरेको वार्षिक फोटो क्यालेन्डर विमोचन गरिएको थियो । ‘पर्यटन प्रवद्र्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा संस्थाका आजीवन सदस्य तथा वन्यजन्तु फोटोग्राफर स्व चुङ्वा सेर्पाको स्मृतिमा तीन लाख राशिको पुरस्कारको अक्षयकोष स्थापना गरिएको छ । सूचना तथा प्रसारण विभागका महानिर्देशक छविन्द्र पराजुलीले आगामी दिनमा फोटो पत्रकारहरुसँग सहकार्यगर्दै नेपालको फोटो बैंक स्थापना गरिने जानकारी दिनुभएको होे । यसले फोटो पत्रकारहरुको रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्तगर्दै उहाँले पर्यटन प्रवद्र्धन तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारको माध्यम फोटो भिडियो हुनेभएको फोटो बैंक आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका सहप्रवक्ता रामशरण बोहराले फोटो प्रतिलिपि अधिकार (कपिराइट) को विषयमा बोल्दै फोटो पत्रकारका सिर्जनाहरु अनुमतिविना प्रयोग हुने गुनासो प्रेस काउन्सिलमा आउने गरेका उल्लेख गर्नुभएको थियो । काठमाडौं फोटो ग्राफर संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरेले दुई संस्थाबीच भाइचारा सम्बन्ध विस्तारगर्दै सहकार्यमा काम गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वअध्यक्ष राजभाइ सुवालले एआइको युगअनुसार प्रविधिमैत्री सीप विकासमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । संस्थाका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारहरु राज्य तथा सञ्चारगृहबाट पीडित भएको उल्लेखगर्दै जीवन बिमा, स्वास्थ्य बिमा तथा क्यामेरा इन्सुरेन्सको अभावका कारण जोखिम बढी हुने गरेको बताउनुभयो ।

उहाँले अन्तरराष्ट्रियस्तरमा सहकार्य विस्तार तथा नेपालको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशका १०० जना फोटो पत्रकार तथा फोटो ग्राफरलाई सहभागी गराई अन्तरराष्ट्रिय फोटो सम्मेलन आयोजना गरिने घोषणा गर्नुभएको थियो ।