काठमाडौं, १४ वैशाख । बागलुङको काठेखोला–२ भिमपोखरा र वडा नं ४ तंग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुंगे पुल निर्माण भएको जम्मा सातवर्ष मात्र भयो । डुडियाघाटमा काठेपुल विस्थापित गरेर झोलुंगे पुल निर्माणहुँदा स्थानीय खुसी थिए । तर बर्खामा खोला ठूलोहुँदा सवारीसाधन आवतजावतमा समस्या भएपछि हालै गण्डकी प्रदेश सरकारले डुडियाघाटमा तीनकरोड ६२ लाख २२ हजार रुपैयाँ खर्चेर मोटर चल्ने पुल निर्माण गरेपछि सँगैको झोलुंगे पुल प्रयोगविहीन बनेको छ । डुडियाघाटमा जस्तै जिल्लाभर एक सय बढी झोलुंगे पुल प्रयोगविहीन बनेका छन् । सडक सञ्जाल विस्तारका कारण गोरेटोबाटो प्रयोग हुन छाड्दा र पक्की पुल बनेपछि ती झोलुंगे पुल प्रयोगमा आउन छाडेका हुन् । प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले काठेखोलामा मात्रै हालै तीनवटा पक्की पुल बनाइसकेको छ । गाउँपालिका–६ बिँहु र वडा नं २ भीमापोखरा जोड्ने गरी लामाबगरमा तीन वर्षअघि निर्माण भएको तीन करोड ३१ लाख रुपैयाँ लागत पक्की पुल बनेपछि सँगैको झोलुंगे पुल प्रयोगमा आउन छाडिसकेको छ ।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले कुनै समय अत्यन्तै अभाव खड्कने झोलुंगे पुल पक्की पुलका कारण प्रयोगमा आउन छाडेको बताउनुभयो । थापाले काठेखोला गाउँपालिकामा मात्र पछिल्लो तीन वर्षमा तीनवटा पक्की पुल बने, पक्की पुलका कारण छेउमै रहेका झोलुंगे प्रयोगमा आउन छाड्यो । पक्की पुल नबन्दासम्म त यात्री झोलुंगे पुलबाट र सवारीसाधन खोलाबाट जान्थे, अहिले पक्की पुल बनेपछि झोलुंगे पुलको काम भएन, गाउँपालिकाले प्रयोगमा आउन सक्ने सम्भावित क्षेत्रमा झोलुंगे पुल स्थानान्तरणगर्न योजना बनाएको छ भन्नुभयो । सबैभन्दा बढी पक्की पुल निर्माण गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डका दर्जन बढी झोलुंगे पुल प्रयोगमा आउन छोडेर जीर्ण बनेका छन् । गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमाना गिरीङ्दीखोलामा पुल बनेपछि छेउमै रहेको झोलुंगेपुलबाट मानिस वारपार गर्ने छाडे ।

त्यसपछि सो पुलको लठ्ठामा खिया लागेको छ । स्थानीय नवीन रानाका अनुसार जिल्लाभर मध्यपहाडी पुष्पलाल लोकमार्गमा बनेका एक दर्जन पक्की पुलका कारण १० वटा झोलुंगेपुल विस्थापित भएका छन् । जिल्लामा ५०० भन्दा बढी झोलुंगे पुल रहेको छ । रासस