
काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसमा तेश्रो गुट तयार भएको छभने नेतृत्व लिने प्रयास गरिरहेको बताइएको छ । यसैक्रममा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र कांग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरुसँग छलफल गर्नुभएको छ । नेता कोइरालाले आज आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीको पछिल्लो अवस्था र मुलुककाबारेमा छलफल गर्नुभएको डा कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिनुभएको छ ।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा उद्धव प्याकुरेल, जेनजी युवा अभिजित अधिकारी, करिना पुरी लगायतको सहभागिता रहेको थियो ।
उक्त छलफलमा कांग्रेस नेताहरु डा शशाङ्क कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा मीनेन्द्र रिजाल, डा गोविन्दराज पोखरेललगायत सहभागी हुनुहुन्थ्यो । डा. कोइराला समूहले शेरबहादुर देउवा र गगन थापा समूहलाई मिलाउने तथा आगामी महाधिवेशनसम्मका लागि नेतृत्व लिने प्रयास गरिरहेको बताइन्छ ।