काठमाडौँ, १४ वैशाख । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले संयुक्त बक्तब्य प्रकाशितगरी निजामती विधेयकमा ट्रेड यूनियन अधिकार कटौती नगर्न आग्रह गरेका छन् । नेपालको संविधान र अन्तरराष्ट्रिय श्रम संगठनमा नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर र अनुमोदन गरेका अभिसन्धिअनुसार सबै पेशाकर्मीले संगठित हुने र रोजेको संगठनको सदस्य हुन पाउनेगरी पूर्ण टे«ड यूनियन अधिकार सुनिश्चित गर्न उनीहरुले माग गरेका हुन् ।

उनीहरुले संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक सेवामा कार्यरत कर्मचारीको हकहित संरक्षण, सहभागिता र सामूहिक सौदाबाजीको अधिकारलाई कानूनीरुपमा मजबुत बनाउनसमेत आग्रह गरेका छन् । सामान्य प्रशासन मन्त्रालयले गत ११ गते निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थागर्न बनेको विधेयकको मस्यौदामा विधायन ऐन–०८१ बमोजिम आवश्यक सुझावका लागि सार्वजनिक गरेको थियो ।