काठमाडौं, १४ वैशाख । । पूर्ब माओवादी नेता पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा नेताहरुका बीचमा आन्तरिक कलह बढिरहेकै बेला आज केन्द्रीय संयोजन समितिको बैठक बोलाइएको थाहा भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेश हुने कार्यक्रम रहेको छ । समाचारसूत्रहरुका अनुसार आजको बैठकले नेताहरुको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना छ । बैठकमा चुनावी समीक्षा प्रतिवेदनको अनुमोदन र सांगठनिक जिम्मेवारीको बाँडफाँट लगायतका प्रस्ताव आउन सक्ने नेताहरुको भनाई छ । यसअघि गत तीनगतेको बैठकमा उठेका प्रश्नहरुको जवाफदिँदै संयोजक र सह–संयोजकले निर्णय प्रस्ताव तयार पार्ने जिम्मेवारी पाउनु भएको थियो ।
सांगठनिक संरचनाका सन्दर्भमा प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको जिम्मेवारी वरिष्ठ नेताहरुबाटै तोक्ने तयारी गरिएको छ । जिम्मेवारी बाँडफाँट गर्दा साविकका दुई पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादी) बीच सन्तुलन कायमगर्ने मापदण्ड बनाइएको थाहाभएको छ । जसअनुसार कुनै प्रदेशमा तत्कालीन माओवादी केन्द्रले इञ्चार्ज पाएमा एकीकृत समाजवादीले सहइञ्चार्ज पाउने भनिएको छभने एकीकृत समाजवादीले इञ्चार्ज पाएको प्रदेशमा माओवादी केन्द्रले सहइञ्चार्जको जिम्मेवारी पाउने भनिएको छ । त्यसैगरी भूगोलमा जस्तै ३२ वटा विभागहरुमा पनि प्रमुख र उपप्रमुखको जिम्मेवारी बाँडफाँट गरिने भनिएको छ ।
बैठकले विधान बमोजिम १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि पनि छलफल गर्नेछ । तल्लो तहका पालिका र जिल्लाको एकता एवं समायोजनको जिम्मा सम्बन्धित प्रदेशलाई नै दिने तयारी छ । बिभिन्न २६ समूहलाई मिलाएर बनाइएको भनिएको सो पार्टीमा गत निर्वाचनमा २६ सिट पनि आउन नसकेपछि नेताहरुका बीचमा आरोप प्रत्यारोप बढेको हो ।