काठमाडौं, १५ वैशाख । नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा हुने भएको छ । पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशनगर्ने निर्णय गरेको हो । पार्टी निकट जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, पालिका, वडा संगठनको समायोजन सम्पन्नगर्ने कार्यसूची छ । आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन पूरागर्ने बैठकले निर्णय गरेको छ । उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदनगर्ने जनाइएको छ । सो पार्टीमा कार्य विभाजनलाई लिएर विवाद देखिएपछि महाधिवेशन पर सार्नुपरेको जानकारहरको भनाई छ ।
यसअघि आगामी असारमा महाधिवेशनगर्ने भनिएको थियो । हिजो कोटेश्वरमा बसेको केन्द्रीय संयोजन समितिको बैठकमा शीर्ष नेताहरुको कार्य विभाजनमा विवादहुँदा निर्णय नगरी बैठक स्थगित भएको हो । बताइएअनुसार संगठन विभाग प्रमुख वामदेव गौतम र विदेश विभाग प्रमुख झलनाथ खनालले माग्नुभएको थियो । तर संगठन विभाग प्रमुख वर्षमान पुनले पाएपछि गौतमले असन्तुष्टि जनाउनुभएको थियो । आज बस्ने बैठकले निर्णय गर्ने भनिएको छ । भूगोलको सात र गैर भूगोलको दुई गरी नौ प्रदेशको इन्चार्ज टुंगो लागेको बताइन्छ । जसअनुसार कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राई, मधेस प्रदेशको इन्चार्ज महिन्द्र राय यादवले पाउनुभएको छ ।
सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराईले पाउनुभएको छ । त्यसैगरी बागमती प्रदेशको इन्चार्ज डा. गंगालाल तुलाधर, गण्डकीको श्रीनाथ बराल, लुम्बिनीको चक्रपाणि खनाल, कर्णालीको चन्द्र बहादुर शाही र सुदूरपश्चिमको इन्चार्जमा डा. भीम रावल तोकिनु भएको छ । त्यसैगरी उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा याशोदा सुवेदी रहनुभएको छ । बाँकीको जिम्मेवारीबारे आज निर्णय हुने नेताहरुको भनाई छ ।