काठमाडौं, १६ वैशाख । सीमावर्ती क्षेत्रका नागरिकहरु किनमेलका लागि भारतीय बजारमा निर्भरहुँदा नेपाली व्यवसाय धराशयी बन्दै गएको उल्लेख गर्दै सिरहाका व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, लहानले हिजो लहानमा आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको स्वागत तथा सम्मान कार्यक्रममा व्यवसायीहरुले आफ्ना समस्या राख्दै सांसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले १०० भन्दा बढी मूल्यका सामानमा भन्सार लगाउने नीतिको स्वागतगर्दै व्यवसायीहरुले यसलाई कड्याइका साथ कार्यान्वयनगर्न माग गरेका छन् । संघका जिल्ला अध्यक्ष प्रदीपकुमार गुप्ताले विना भन्सारका सामान आयातमा पूर्ण रोकलगाउनुपर्ने र भन्सार दर घटाएर नेपाल–भारतबीचको सामानको मूल्यमा रहेको अन्तरलाई कमगर्न (मूल्य समायोजन) जोड दिनुभयो ।
सिरहा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले सरकारले खुला र उदार अर्थतन्त्रलाई प्रोत्साहनगर्ने नीति लिएको बताउनुभएको थियो । उहाँले आर्थिक अभाव भएका विपन्न समुदाय घरायसी प्रयोजनका लागि भारतीय बजारमा निर्भर भएपनि खुला सीमाको फाइदा उठाएर हुने अवैध निकासी र तस्करी विरुद्ध सरकारले शून्य सहनशीलताको नीतिलिएको छ भन्नुभयो । सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले व्यवसायीहरुका गुनासा र चिन्ताप्रति आफू गम्भीर रहेको बताउँदै ती समस्या समाधानका लागि सम्बन्धित निकाय र सदनमा पहलगर्ने आश्वासन दिनुभयो । व्यवसायीहरुले आन्तरिक उत्पादनलाई प्रोत्साहनगर्ने वातावरण बनाउन र सीमा नाकामा हुने तस्करी नियन्त्रणगरी स्वदेशी लगानी सुरक्षितगर्न नवनिर्वाचित सांसदहरुसँग आग्रह गरेका छन् । रासस