काठमाडौं,१७ वैशाख । चीन सरकारले चक्रपथ विस्तार (दोस्रो चरण)कार्यान्वयनगर्न ११ अर्ब अनुदान प्रदानगर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्रालयका अनुसार सहयोगसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चीनका राजदूत चाङ माओमिङले उक्त मन्त्रालयमा हिजो हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार अब कलङ्कीदेखि वसुन्धरासम्म चक्रपथ विस्तार गरिने छ ।
पहिलो चरणमा कोटेश्वरदेखि कलंकीसम्म विस्तार भएको हो । त्यसअवसरमा मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै किसिमका समस्या हुननदिने बताउँदै त्यसो भएमा तिनको समाधानका निम्ति तत्काल सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत चाङले लगानीको उपयुक्त वातावरण बनेमा धेरैभन्दा धेरै चिनियाँ लगानीकर्ता यहाँ आउन इच्छुक रहेका बताउनुभएको छ ।