काठमाडौं,१७ वैशाख । नेपालमा अमेरिकी हस्तक्षेप बढेको चर्चा भैरहेकै बेला आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर काठमाडौं आउन लाग्नु भएको छ । उहाँ आज साँझ काठमाडौं ओर्लिने परराष्ट्र स्रोतहरुको भनाई छ । नेपालमा रास्वपाको बालेन शाह नेतृत्वमा सरकार गठन भएयता अमेरिकी अधिकारीहरु काठमाडौं आउनेक्रम बढेको छभने नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ मानिनुहुन्छ ।

गोर दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत र भारतका लागि अमेरिकी राजदूतका रुपमा पनि कार्यरत हुनुहुन्छ । ट्रम्पका निकट सहयोगी मानिने उहाँलाई भारतका लागि राजदूतसँगै दक्षिण तथा मध्य एशियाका विशेष दूतको जिम्मेवारी पनि दिइएको छ ।

यसअघि गत सातगते अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर काठमाडौं आउनु भएको थियो । आज काठमाडौं आउन लाग्नु भएका गोरले उच्चस्तरीय भेटघाट गर्ने भनिएपनि को कसलाई भेट्ने भन्ने तालिका सार्बजनिक गरिएको छैन । जानकारहरुले गोरले नेपालका प्रधानमन्त्रि बालेन्द्र शाहसँग भेट्ने मुख्य कार्यक्रम रहेको बताएका छन् ।