काठमाडौं,१७ वैशाख । काठमाडौंमा भोलीबाट फेरी डोजर चलाउने घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमणगरी निर्माण गरिएका घरटहरा तत्काल खालीगर्न आग्रह गरेको छ । सो कार्यालयले एक सार्वजनिक सूचना जारीगर्दै त्यस्ता जग्गामा निर्माण गरिएका घरटहरा आज वैशाख १७ गते साँझसम्म खालीगर्न आग्रह गरेको हो ।

विपद्को उच्च जोखिममा रहेका ती बस्तीहरु भोली वैशाख १८ गते बिहान ७ः०० बजेदेखि खालीगर्न थालिने सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा जारी सूचनामा उल्लेख छ । अतिक्रमित जग्गामा बनेका बस्तीमा रहेका बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा बालबालिकालाई सुरक्षित स्थानमा सार्न, स्थानान्तरण कार्यमा प्रहरीको सहायता लिन, व्यक्तिगत मालसामान, लत्ताकपडा, पशुपन्छी चौपाया बाहिर निकाल्न कार्यालयले आग्रह गरेको छ ।

वास्तविक भूमिहीन एवं परिवारको पहिचानगरी दिगो रुपमा समस्या समाधानगर्ने कार्य यथाशीघ्र अघि बढ्ने र नक्कली एवं अवास्तविक भूमिहीन भनिएका व्यक्ति एवं परिवारको पहिचानगरी कानूनी दायरामा ल्याइने सो कार्यालयले जनाएको छ ।