काठमाडौं,१७ वैशाख । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का पार्टीको गगन थापा समूहका गतिबिधिप्रति असन्तुष्ठ हुनुभएको छ । नेता खड्काले राष्ट्रिय सभाको संसदीय दलको नेता परिवर्तनगर्ने शैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको हो । अनुभवी र अग्रज नेतालाई सामान्य राजनीतिक शिष्टाचारसमेत नराखी, पूर्व जानकारीबिनानै हठात् हटाइएको भन्दै उहाँले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिकगर्दै नेता खड्काले पार्टीभित्रको यो पछिल्लो विकास क्रमलाई शुभ संकेत नभएको टिप्पणी पनि गर्नुभएको छ । खड्काले राष्ट्रिय सभामा संसदीय दलको नेता मनोनयनगर्ने वा परिवर्तन गर्ने अधिकार विधानतः संसदीय दलको नेतालाई भएको कुरामा आफू प्रष्ट रहेको उल्लेखगर्दै निर्णय लिने प्रक्रिया र समयप्रति आपत्ति जनाउनुभएको हो ।

उहाँले देशको राष्ट्रियतामाथि संकटको कालो बादल मडारिएको र पार्टी विवादको दलदलमा फसेको यस्तो संवेदनशील अवस्थामा सम्पूर्ण एकताको पहल गर्नुपर्ने जिम्मेवारीमा भएकाहरुबाटै यस्तो निर्णय भएको बताउनु भएको छ । यसैबीच नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोगगर्ने विभिन्न सदस्यहरुलाई पाँच दिनभित्र स्पष्टीकरण पेशगर्न निर्देशन दिएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोगगर्ने व्यक्तिहरुलाई समितिमा स्पष्टीकरण पेशगर्न पत्राचारगर्ने निर्णय गरेको हो । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले पार्टीका महासमिति सदस्य एवं लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार (सन्तु), पूर्वकेन्द्रीय सदस्य एवं कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार, लुम्बिनी प्रदेशका यातायात तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपानेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

त्यस्तै पार्टीको प्रदेश उपसभापति एवं लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य राजु खनाल तथा प्रदेश सदस्यहरु जङ्गीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर रायलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ ।