सुकुमबासी बस्ती

काठमाडौं, १८ वैशाख । आजबाट बाँकी रहेका सुकुम्बासी बस्तीमा फेरी डोजर चलेको छ । शहरी विकास मन्त्रालयले आज शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको हो । पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरु स्थानान्तरण गरिसकिएको छ भने अब दोस्रो चरणको काम अघिबढाइने शहरी विकासमन्त्री सुनिल लम्सालको सचिवालयले जनाएको छ । यस प्रक्रियालाई व्यवस्थित बनाउन मन्त्रालयमा हिजो विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो । सो बैठकले आवश्यक तयारी पूरागरेको छ । सचिवालयकाअनुसार स्थान्तरणलाई सहज बनाउन जोखिमयुक्त क्षेत्रमा बसोबासगर्ने नागरिकलाई बसमार्फत प्राथमिक दर्ता केन्द्रका रुपमा दशरथ रंगशाला पु¥याइनेछ । रङ्गशालामा तीन वटा सहायता कक्ष सञ्चालन गरिनेछन् । पहिलो कक्षमा सूचना तथा तथ्यांक संकलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण संकलन र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्यांक संकलन गरिनेछ । त्यसैगरी, होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामानजस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायको सहयोग रहनेछ । आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापनगर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पु¥याउन पनि बसको व्यवस्था गरिएको छ ।

मन्त्रालयले तत्काल स्वास्थ्य सेवा, मानवीय सहायता तथा मनोपरामर्श सेवाको व्यवस्थासमेत गरेको छ । यी सेवा प्राथमिक दर्ता केन्द्र र होल्डिङ सेन्टर दुवै स्थानमा उपलब्ध हुनेछन् । संकलित विवरणका आधारमा सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिनेछ । पहिचान हुन नसकेका व्यक्तिहरुलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ । पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघिबढाइने भएको छ । रासस