काठमाडौं, १८ वैशाख । अमेरिकामा आप्रवासन नीतिलाई थप कडा बनाउने उद्देश्यले डिभी चिठ्ठा खारेजगर्ने प्रस्ताव गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिका फष्ट नीतिलाई वैधानिक आधार दिने लक्ष्यसहित हाउस रिपब्लिकनहरुले अमेरिकन्स फष्ट इमिग्रेशन एक्ट अघि सारेका हुन् । अलाबामाका रिपब्लिकन सांसद ब्यारी मूरले हालै प्रस्तुत गरेको उक्त विधेयकले हालको आप्रवासन प्रणालीमा व्यापक परिवर्तन प्रस्ताव गरेको छ ।
भनिन्छ विधेयकको मुख्य उद्देश्य अमेरिकी आप्रवासन प्रणालीलाई मेरिट अर्थात् दक्षता–आधारित बनाउनु हो। जसअन्तर्गत हाल सञ्चालनमा रहेको डाइभर्सिटी भिसा चिट्ठा प्रणाली पूर्णरुपमा खारेजगर्ने प्रस्ताव गरिएको छ । सांसद मूरका अनुसार अब अमेरिकी नीतिले विदेशी कामदार वा चिट्ठालाई प्राथमिकता दिनुको सट्टा अमेरिकी नागरिक र श्रमिकलाई प्राथमिकता दिनुपर्नेछ । यद्यपि धार्मिक कार्यकर्ताका लागि छुट्याइएको वार्षिक ३ हजार भिसा कोटाभने यथावत् राखिने व्यवस्था गरिएको छ । नयाँ प्रस्तावले पारिवारिक पुनर्मिलन प्रक्रियामा सबैभन्दा ठूलो असर पार्ने देखिएको छ । प्रस्तावअनुसार अब अमेरिकी नागरिक र ग्रीन कार्डधारीहरुले केवल आफ्ना पति÷पत्नी र नाबालक छोराछोरीलाई मात्र अमेरिका ल्याउन पाउनेछन् ।
हालसम्म उपलब्ध प्रिफरेन्स कोटाअन्तर्गत आउने बुबा–आमा, दाजुभाइ, दिदीबहिनी तथा वयस्क सन्तानलाई ल्याउने सुविधा पूर्णरुपमा हटाउने योजना छ । यस्तो अवस्थामा उनीहरुले अमेरिका आउन चाहेमा आफ्नै योग्यता र दक्षताका आधारमा आवेदन दिनुपर्नेछ । रोजगारी–आधारित भिसा प्रणालीमा पनि आमूल परिवर्तन प्रस्ताव गरिएको छ ।