काठमाडौं, १८ वैशाख । संसदमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीन विपक्षी दलको बैठकले जनजीविका र समसामयिक सवालमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभामा एमालेका दलका नेता प्रेमप्रसाद दंगाल, नेपाली कांग्रेसका संसदीय दलका मुख्य सचेतक बासना थापा र नेपाल कम्युनिष्ट पार्टीका दलका प्रमुख सचेतक युवराज दुलालसहितको बैठकले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानलगायत विषयमा चासो व्यक्त गरेको हो ।
बैठकपछि जारी वक्तत्वमा बढ्दो महँगी नियन्त्रण र सार्वजनिक सुपथ मूल्य सञ्चालनमा ल्याउन, किसानलाई रसायनिक मलको समयमा प्रबन्धगर्न, कुखुरालगायत पक्षीहरुमा देखिएको बर्डफ्लु प्रभावित किसानलाई राहत दिन आग्रह गरिएको छ । त्यसैगरी, पेट्रोलियम पदार्थको सहज आपूर्ति र सहुलियत प्याकेज दिन, बिद्यार्थी संगठन तथा कर्मचारी ट्रेड यूनियन खारेज नगर्न र सरकारको आगामी नीति कार्यक्रम र बजेटको तयारीको छलफलमा विपक्षी दललाई सहभागी गराउन माग गरिएको छ । बैठकले दैनिक उपभोग्य वस्तुमा भइरहेको चर्को मूल्यवृद्धि र महँगी नियन्त्रणगर्न असफल भएको भन्दै सरकारको आलोचना पनि गरेको छ ।