काठमाडौं, २० वैशाख । नेकपा (माले) को आज बसेको स्थायी कमिटीको बैठकले बिभिन्न पाँच बुँदे निर्णय गरेको थाहाभएको छ । महासचिव सी.पी. मैनालीको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरुमा सरकारले संसद् अधिवेशन स्थगन गरेर एकपछि अर्को अध्यादेश ल्याउनुलाई मालेले अध्यादेश मार्फत शासनगर्ने प्रयत्नभन्दै यसको कडा विरोध गरेको छ । यसबाट संसद् र सांसद दुवैको अपमान भएको पार्टीको ठहर छ । सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्यलाई अव्यवहारिक र जनविरोधीभन्दै मालेले पहिले वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थापनगर्न माग गरेको छ। समस्याको दीर्घकालीन समाधान डोजर चलाएर नभई नीतिगत रुपमा हुनुपर्नेमा पार्टीले जोडदिएको छ ।

सुकुम्बासीहरुको विवरण मागगर्ने र उठिबास लगाउने कार्यमा नेपाली सेनाको संलग्नता हुनुलाई मालेले अस्वाभाविक भनेको छ। सैनिक कार्यक्षेत्र बाहिरका यस्ता कार्यले सेनाको भूमिकामाथि आशंका उब्जाउने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले वैदेशिक ऋण नबढाउने प्रतिबद्धता विपरित विश्व बैंक र एसियाली विकास बैंकबाट करिब २८ अर्ब रुपैयाँ ऋण लिन लागेकोमा प्रश्न उठाएको छ । साथै, एमसीसी, एसपीपी र मुस्ताङमा युरेनियम खानी उत्खनन् सम्बन्धी चर्चाबारे सत्यतथ्य सार्वजनिकगर्न माग गरेको छ। अमेरिकी सरकारले नेपाली सेनालाई छवटा हेलिकप्टर र अर्बौँ डलर अनुदान दिने भनिएको प्रस्तावलाई मालेले विवादास्पद एसपीपीको अंग हुनसक्ने आशंका गरेको छ । यस्तो अनुदान राष्ट्रहितमा नहुनेभन्दै त्यसलाई अस्वीकारगर्न सरकारसँग माग गरिएको छ ।