काठमाडौं, २० वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुननसक्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उपरोक्त कुरा जनाउनु भएको हो । उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसलाई लोकतन्त्रको आधारस्तम्भका रुपमा व्याख्यागर्दै सार्वजनिक उत्तरदायित्व सुनिश्चितगर्न यसको भूमिका निर्णायक हुने बताउनुभएको हो ।
सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यममा सीमित नभई राजनीति, प्रशासन, निजी क्षेत्र र समग्र समाजलाई जवाफदेही बनाउने प्रमुख संस्था रहेकाले यस क्षेत्रले प्रेस स्वतन्त्रतासँगै उच्चस्तरीय जिम्मेवारी बहन र्नु आवश्यक रहेको सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ छ । उहाँले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार पूर्णप्रतिबद्ध रहेको स्पष्टपार्दै स्वतन्त्र प्रेसले मात्र सुशासन र पारदर्शितालाई दिगो बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो । साथै, प्रेस स्वतन्त्रतासँगै तथ्यप्रतिको निष्ठा, व्यावसायिक मर्यादा र सार्वजनिक हितप्रतिको उत्तरदायित्वलाई समान रुपमा महत्त्व दिनुपर्ने उहाँको भनाइ छ ।
शुभकामना सन्देशमा प्रेसको विश्वसनीयताले नै लोकतन्त्रको विश्वसनीयता बलियो बनाउँछ । वर्तमान डिजिटल युगमा फैलिँदै गएको गलत सूचना, भ्रामक सामग्री र सामाजिक सञ्जालको दुरुपयोगजस्ता चुनौतीप्रति सचेत रहनुपर्ने आश्यकता छ । यस्तो अवस्थामा सत्य, तथ्य र जनहितमा आधारित पत्रकारिता अझ आवश्यक छ भनिएको छ । मन्त्री डा तिमिल्सिनाले समाजलाई सचेत, जिम्मेवार र लोकतान्त्रिक मार्गमा अघि बढाउन सञ्चार क्षेत्रको भूमिका सधैँ महत्त्वपूर्ण रहने उल्लेखगर्दै सत्य र जनहितका पक्षमा सक्रिय सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्नुभयो । मन्त्री तिमिल्सिनाले शान्तिपूर्ण भविष्यको निर्माणः मानवअधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवद्र्धनभन्ने नाराकासाथ मनाइँदै गरेको यस दिवसले स्वतन्त्र, जिम्मेवार र विश्वसनीय पत्रकारिताको अभ्यासलाई अझ सुदृढ बनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।