काठमाडौं,२३वैशाख । बाग्मती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ वटा मन्त्रालयलाई घटाएर आठ वटा कायमगर्ने निर्णय गरेको सरकारका प्रवक्ता एबं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभएको छ । उहाँकाअनुसार खर्च कटौती र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यले मन्त्रालय संख्या घटाइएको हो भने अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय रहनेछन् । यसअघि प्रदेशको प्रशासनिक संरचनालाई सुदृढ र मितव्ययी बनाउन पूर्वसचिव विमल वाग्लेको नेतृत्वमा रहेको प्रशासनिक संरचना पुनरावलोकन समितिले हाल कायम रहेका १४ वटा मन्त्रालयलाई घटाएर आठमा सीमित गर्न सरकारलाई सुझाव दिएको थियो । समितिले मन्त्रालयको संख्या मात्र बढेको, तर कार्यसम्पादनमा प्रभावकारिता नदेखिएकाले व्यापक पुनर्संरचनाको आवश्यकता औँल्याएको थियो ।

यस्तै, साङ्गठनिक आवश्यकता र कार्यबोझभन्दा पनि आन्तरिक दलीय सन्तुलन मिलाउन मन्त्रालय विस्तार गरिएको समितिले ठहर गरेको थियो । निर्णयअनुसार अब आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय रहनेछन् ।

मन्त्रालयअन्तर्गतका कार्यालय पनि घटाइने भएको छ । हाल रहेका १९८ वटा कार्यालयमध्ये करिब ५० वटा घटाइने सरकारको तयारी छ । यसबाट चालु खर्चतर्फ करिब पाँच अर्बसम्म कटौतीहुने अनुमान गरिएको मन्त्री तामाङले बताउनुभएको छ । जनताको करबाट उठेको रकमलाई अधिकतम पुँजीगत क्षेत्रमा खर्च गर्ने लक्ष्यका साथ यस्तो निर्णय गरिएको उहाँले बताउनुभएको छ ।