काठमाडौं,२३वैशाख । क्रान्तिकारी कम्युनिष्ट पार्टीसहितका ११ दलद्वारा सुकुम्बासी बस्तीमाथि डोजर आतंक बन्दगर्न माग गरेका छन् । चितवनमा भएको एक भेला र छलफलपछि उनीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा वर्षौंदेखि बसोबासगर्दै आएका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीका अस्थायी घरमा डोजर चलाउनु राज्यद्वारा सिर्जित आतंक भएको उल्लेख छ । चितवनमा भएको सर्वदलीय बैठकले सरकारलाई डोजर आतंक बन्दगर्न आह्वान पनि गरेको छ । विज्ञप्तिमा सरकारले नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उल्लेखगर्दै गरिबी हटाउने नाममा गरिब नागरिकमाथि नै अन्याय भइरहेको जनाइएको छ ।
बक्तब्यमा जनताको जीवनस्तर सुधार्ने प्रतिबद्धतासहित आएको सरकारले उल्टै नागरिकलाई असुरक्षित र आतंकित बनाएको छ,’ उनीहरुले भनेका छन्। राजनीतिक दलहरुले वैकल्पिक व्यवस्था नगरी सुकुमबासी बस्ती हटाउनु नागरिकको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र बाँच्न पाउने संवैधानिक अधिकारमाथिको गम्भीर प्रहार भएको बताइएको छ । छोटो समयको सूचना दिएर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनगरी बालबालिका, ज्येष्ठ नागरिक, बिरामी र परीक्षाको तयारीमा रहेका बिद्यार्थीसमेत प्रभावित हुने गरी गरिएको डोजर आतंकप्रति गम्भीर आपत्ति जनाएका छन् ।
राज्यले वास्तविक सुकुम्वासी र भूमिहीनको पहिचान गरी उनीहरुको उचित व्यवस्थापनगर्नु आफ्नो दायित्व भएको स्मरण गराउँदै कानूनको शासनका आधारमामात्र समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको छ । दमनको शासनको शैलीमा गरिएको हस्तक्षेपले देशभर त्रास फैलिएको उनीहरुको भनाइ छ । बक्तब्य जारी गर्नेहरुमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमलराज पाठक, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक घनश्याम दाहाल, श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष राजु थापा लगायत हुनुहुन्छ ।