काठमाडौं,२३वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालस्थित विदेशी दूतावास तथा निकायहरुले सञ्चालन गरिरहेका युथ काउन्सिलहरु तत्काल खारेजगर्न सरकारसँग जोडदार माग गर्नुभएको छ । प्रधानमन्त्रीलाई सम्बोधनगर्दै उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अपिलपत्रमा देशको राष्ट्रिय स्वाभिमान र स्वाधीनताको रक्षाका लागि यस्तो कदम चाल्न आवश्यक रहेको बताइएको छ ।

विदेशी दूतावासहरुले आफ्नै ढंगले युवा परिषद्हरु गठनगरी नेपाली युवा पुस्तामा बाह्य प्रभाव पारिरहेकोभन्दै ती संरचनाहरु खारेजगर्न, नेपाल सरकारको स्पष्ट अनुमति र समन्वय बिना कुनैपनि विदेशी निकायले युवा लक्षित कार्यक्रमहरु सञ्चालनगर्न नपाउने गरी कडा व्यवस्थागर्न, देशको आन्तरिक नीति, शिक्षा र युवा विकासका क्षेत्रमा स्वदेशी मूल्य, इतिहास र आवश्यकतालाई मात्र प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

सांसद शाहीले देशको दीर्घकालीन हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर यस्ता काउन्सिलहरु बन्द गरिनुपर्ने पनि बताउनुभएको छ । नेपालमा विशेषगरी अमेरिकी र भारतीय दूतावासलगायतका निकायले युवाहरुलाई समेटेर बिभिन्न काउन्सिल र नेटवर्किङ समूहहरु सञ्चालनगर्दै आएका छन् ।