काठमाडौं,२३वैशाख । सरकारले समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्तागर्ने भएको छ । गत नौगतेदेखि काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्तागर्ने तयारी गरेको हो । समितिले गरेको अध्ययनअनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेको समितिले जनाएको छ । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँचलाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताकारुपमा वर्गीकरण गरिएको छ ।
कुल ७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचतगर्ने जम्मा १८ हजार रहेको समितिका सदस्यसचिव रविन ढकालले जानकारी दिनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि धेरै काम भइसकेको र अब फिर्ता गर्ने काम सुरु हुने जानकारी दिनुभयो । उहाँले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नेबारे धेरै काम गरिसकेका छौँ । साना बचतकर्ताको रकम पहिले फिर्ता गर्छौं भन्नुभएको छ । समितिले आफ्नो कार्यविधि तयगर्दै बचत फिर्ता कार्य आरम्भगर्ने र कर्जा असुलीमा प्राथमिकता दिने नीति अबलम्बन गरिने जनाएको छ ।
समितिले मागदाबीकर्ता बचतकर्ताको बचत फिर्तागर्ने कार्य आगामी जेठको पहिलो हप्ताबाट आरम्भ हुने र मागदाबी छुट भएका बचतकर्ताको पुनः मागदाबीगर्ने समय आगामी साउनको पहिलो हप्तामा खुला गरिने जनाएको छ । समितिका अनुसार नेपाल सरकारबाट चक्रीय कोषमा विनियोजित रकम सम्बन्धित समितिको कोषबाट नपुग हुनगएमा सापटीका रुपमा मात्र खर्च गरिने पनि स्पष्ट पारिएको छ । समितिका सदस्यसचिव ढकालले कर्जा असुलीका लागि समितिले कानुनबमोजिम कठोर नीति अबलम्बनगर्ने जानकारी दिनुभएको छ । रासस