सियोल२३ वैशाख । उत्तर कोरियाले दक्षिण कोरियासँगको एकीकरण रद्ध गरेको छ । दक्षिण कोरियासँगको सम्बन्धलाई थप टकरावपूर्ण दिशातर्फ मोड्दै उत्तर कोरियाले आफ्नो संविधानबाट एकीकरण सम्बन्धी सबै उल्लेख हटाएको छ । सार्वजनिक गरिएको नयाँ संवैधानिक कागजातले प्योङयाङले अब सियोलसँग मेलमिलापभन्दा टकरावलाई प्राथमिकता दिएको स्पष्ट संकेत दिएको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको संविधानको संशोधित संस्करणमा पहिले उल्लेख गरिएको ‘मातृभूमिको एकीकरण’ गर्ने लक्ष्यसम्बन्धी प्रावधान पूर्ण रुपमा हटाइएको छ । यसले उत्तर कोरियाको दीर्घकालीन नीतिमा महत्त्वपूर्ण परिवर्तन आएको देखाएको छ । यो निर्णय उत्तर कोरियाली नेता किम जोङ उनले केही समयअघि दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण राज्य’ का रुपमा चित्रित गरेपछि आएको हो । मार्च महिनामा गरिएको नीतिगत सम्बोधनमा उहाँले सियोलप्रति कडा र आक्रामक धारणा प्रस्तुत गर्नुभएको थियो । नयाँ संविधानमा उत्तर कोरियाको भौगोलिक सीमाबारे पनि स्पष्ट उल्लेख गरिएको छ ।

कागजातले चीन र रुससँग जोडिएको उत्तरी सीमा र दक्षिणतर्फ ‘गणतन्त्र कोरिया’ सम्मको क्षेत्रलाई आफ्नो सीमाका रुपमा परिभाषित गरेको छ । साथै, आफ्नो भूभागमा कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य हुने स्पष्ट चेतावनीसमेत दिइएको छ । यता दक्षिण कोरियाले भने संवादको ढोका खुला राखेको संकेत दिएको छ । राष्ट्रपति ली जे म्युङले कुनै पनि पूर्वशर्त बिना वार्ताका लागि आह्वान गर्दै दुई देशबीच शान्ति र सहकार्य सम्भव रहेको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार कोरियाली प्रायद्वीपमा स्थायित्व कायम गर्न संवाद नै प्रमुख माध्यम हुन सक्छ । तर प्योङयाङले सियोलको यस पहलप्रति कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । उल्टै, उत्तर कोरियाले दक्षिणलाई बारम्बार आफ्नो ‘सबैभन्दा शत्रुतापूर्ण’ प्रतिद्वन्दीकारुपमा चित्रणगर्दै आएको छ । यसबीच, प्योङयाङले आफ्नो आणविक शक्ति थपसुदृढ गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

अप्रिल महिनामा मात्र चारवटा क्षेप्यास्त्र परीक्षण गरिएको छ । यो पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा एकै महिनामा गरिएको सबैभन्दा ठूलो परीक्षण श्रृंखला मानिएको छ । क्षेत्रीय शक्ति सन्तुलनमा थप जटिलता थप्दै उत्तर कोरिया पछिल्लो समय रुससँग पनि नजिकिएको छ । युक्रेन युद्धमा समर्थन जनाउँदै उसले सेना र तोपखाना पठाएको बताइएको छ, जसले अन्तर्राष्ट्रिय राजनीतिक समीकरणमा नयाँ बहस सिर्जना गरेको छ । रासस, एएफपी