काठमाडौं,२३ वैशाख । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सुकुम्बासी बस्तीमा डोजर चलाइएको बिषयमा विरोधगर्दै सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्नुभएको छ । माइतीघर मण्डलामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले शक्तिशाली सरकारसँग जनताका अपेक्षा पनि उच्च हुने बताउनुभएको थियो । उहाँले जनताले आफ्नो सम्पूर्ण क्षमता प्रयोगगरी सरकार गठनमा सहयोग गरेको उल्लेखगर्दै नेपालको राजनीतिक इतिहासमा अस्थिरता र निरंकुशताको दोहोरो समस्या रहेको धारणा राख्नुभएको थियो । उहाँले जति शक्तिशाली सरकार हुन्छ त्यति स्वभाविक जनताका अपेक्षाहरु पनि त्यति नै हुन्छन् ।

जनताले अपेक्षाकासाथ नै आफ्नो सम्पूर्ण बुद्धि, क्षमता प्रयोग गरेर यो सरकारलाई ल्याउनका लागि सहयोग गरेका हुन् । नेपालको इतिहासमा दुईवटा अभिसाप छ । नेपाल या त अस्थिरता, लोकतन्त्रका नाममा अस्थिरता र स्थिरताका नाममा लोकतन्त्रमाथिको आक्रमण । हामी सधैं यसबाट गुज्रिएर आइरहेका छौं । प्रजातन्त्र र लोकतन्त्रको नाममा हामी अस्थिरता पनि बेहोर्दै आइरहेका छौं । स्थिरताको नाममा निरकुंशता पनि बेहोर्दै आइरहेका छौं भन्नुभएको थियो ।

अध्यक्ष भुसालले सरकार बनेको डेढ महिनानै नहुँदै जे जस्ता गतिविधि भएका छन् यसले नेपाली नागरिकलाई झस्काएको छ । जब नागरिक सरकारसँग डराउँछन् तब त्यसको परिणाम राम्रो हुँदैन भन्नुभएको छ । उहाँले पत्रकारहरु माझ यो सरकारले आफ्ना कमजोरिहरु सुधारोस् भन्नका लागि पनि हामीले ध्यानाकर्षण गराएका हौं । यो सरकारले सुकुम्बासी बस्तीमाथि जुन व्यवहार गर्यो यो ठूलो अत्याचार हो भन्नुभएको थियो ।