क्यानबेरा, २४ वैशाख । अष्ट्रेलियाली सरकारले देशको इन्धन सुरक्षालाई सुदृढ बनाउन आगामी संघीय बजेटमार्फत १० अर्ब अष्ट्रेलियाली डलरभन्दा बढी रकम विनियोजनगर्ने घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले बुधबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा यस प्याकेजअन्तर्गत राष्ट्रिय इन्धन भण्डार स्थापना गरिने र सबै प्रकारका इन्धनका लागि न्यूनतम भण्डारण दायित्व करिब १० दिनले बढाइने जानकारी दिनुभएको छ । उहाँकाअनुसार यस योजनाले अष्ट्रेलियाको आन्तरिक इन्धन भण्डारण क्षमता विस्तार गरी कम्तीमा ५० दिनको आपूर्ति सुनिश्चित गर्नेछ । सरकारले ७.५ अर्ब अष्ट्रेलियाली डलर इन्धन तथा मल सुरक्षा सुविधा स्थापना गर्न खर्च गर्नेछ, जसअन्तर्गत ऋण, लगानी, बीमा र मूल्य सहयोगमार्फत घरेलु आपूर्ति र भण्डारण क्षमता बढाइनेछ । यसैगरी थप ३.२ अर्ब अष्ट्रेलियाली डलर खर्चगरी करिब १ अर्ब लिटर क्षमताको सरकारी स्वामित्वको इन्धन भण्डार निर्माण गरिनेछ, जुन आपूर्ति संकटका बेला विशेष गरी क्षेत्रीय क्षेत्रमा आवश्यक सेवा प्रदायकलाई सहयोग गर्न लक्षित हुनेछ ।
नयाँ वा विस्तारित प्रशोधन क्षमताको सम्भाव्यता अध्ययनका लागि १० लाख अष्ट्रेलियाली डलर पनि छुट्याइएको छ । प्रधानमन्त्री अल्बानीजले नागरिकहरुलाई इन्धन बचतगर्न पनि आग्रह गर्नुभयो । उहाँले विश्व अहिले गम्भीर ऊर्जा संकटबाट गुज्रिरहेको उल्लेखगर्दै यसको प्रभाव विशेषगरी क्षेत्रीय देशहरुमा परेको बताउनुभयो । ऊर्जामन्त्री क्रिस बोवेनले सरकार इतिहासकै सबैभन्दा ठूलो ऊर्जा संकट सामनागर्न केन्द्रित रहेको बताउनुभयो ।
उहाँका अनुसार अप्रिल महिनामा इन्धन आयात ९२ ढुवानीसम्म पुगेको छ, जुन यस वर्षकै उच्च हो । विपक्षी नेता एङ्गस टेलरले भने सरकारको योजना ढिलो र अपर्याप्त भएको टिप्पणी गर्नुभयो । उहाँले ६० दिनदेखि ९० दिनसम्मको इन्धन भण्डार आवश्यक रहेको बताउनुभएको छ । रासस, सिन्ह्वा