काठमाडौं,२४ वैशाख । बिद्युतीकरण योजनाहरु अलपत्र पर्न थालेको खुलाशा भएको छ । यसैक्रममा प्राप्त एक समाचारअनुसार म्याग्दीको मालिका–५ देविस्थानको पन्थोक र जुग्जामा केन्द्रीय प्रसारण लाइनको बिद्युत सुविधा विस्तारका लागि सञ्चालित योजना अलपत्र छ । केन्द्रीय लाइनको बिद्युत सुविधा विस्तारमा भएको ढिलाइले रातको समयमा उज्यालो, मोबाइल चार्जगर्न, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, विद्यालयमा कम्युटर विषयको पठनपाठन, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रवाह र कुटानी पिसानी मिल सञ्चालनमा समस्या भएको छ । पन्थोकस्थित भीम माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक डम्मरबहादुर घर्तीले दुईवर्षअघि शुरुभएको बिद्युतीकरण योजनाले पूर्णता नपाउँदा बिजुलीको आशामा रहेका स्थानीयवासी निराश भएका बताउनुभयो । १३२ परिवारको बसोबास रहेको पन्थोकमा गौडाखोला लघुजलबिद्युत परियोजनाको नहर मर्मतका लागि यही वैशाख ८ गतेदेखि बन्द गरिएको छ ।

उहाँले हामी अन्धकारमा बस्न बाध्य छौँ, ७२ परिवारको बसोबास रहेको जुग्जामा बिद्युतीकरणका लगेका पोल र तार बाटोमै थन्किएका छन् भन्नुभयो । पोल गाड्ने, मुख्य लाइन तान्ने काम सकिएको पन्थोकका बासिन्दाले वायरिङ गरिसकेका छन् । मिटरबक्स जडान र कालोतार जोड्न बाँकी छ । जुग्गामा पोल गाड्न, तार तान्न, ट्रान्सफर्मर जडान गर्नेलगायतका धेरै काम बाँकी छन् । लघुजलबिद्युत परियोजना र सौर्य ऊर्जाबाट उज्यालोका लागि बिजुली बाले पनि कम्युटर, मिल, उद्योग व्यवसाय सञ्चालन तथा सार्वजनिक सेवा प्रवाहमा असरपरेको घर्तीले बताउनुभयो । नेपाल बिद्युत प्राधिकरणले सञ्चालन गरेको उज्यालो म्याग्दी कार्यक्रमअन्तर्गत पन्थोक र जुग्जालगायतका म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरमा राष्ट्रिय प्रसारण लाइनको बिद्युत विस्तारका लागि पोल गाड्ने, तार तान्ने, ट्रान्सफर्मर जडान गर्ने काम गर्न २०८१ असोजमा बेनीको न्यू ढुङ्गाना निर्माण सेवाले ठेक्का लिएको थियो ।

उक्त निर्माण कम्पनीका सञ्चालक दिनेश ढुंगानाले नेपाल बिद्युत प्राधिकरण बेनी वितरण केन्द्रले आवश्यक उपकरण र गरेको कामको भुक्तानी नगरेकाले योजनाको काम प्रभावित बनेको बताउनुभयो । उहाँले बेनी वितरण केन्द्रले उपकरण र सामग्री उपलब्ध गराएको छैन । ठेक्का सम्झौता भएयता पेस्कीबाहेकको रकम भुक्तानी पाइएको छैन । कार्यालयले बिल भुक्तानीमा सहजीकरण र सिफारिस नगरिँदा मजदुरलाई ज्याला तथा आपूर्तिकर्तालाई भुक्तानी दिन समस्या भएको छ भन्नुभयो । रासस