काठमाडौं,२४ वैशाख । एमालेमा अध्यक्ष केपी ओली बिरुद्धको हस्ताक्षर रोकिउको छभने देशैभर पार्टी एकताका लागि अभियान थालिएको थाहा भएको छ । सो पार्टीभित्र एक महिनाअघि निकै हलचल मच्चाएको हस्ताक्षर संकलन अभियान एकाएक रोकिएको नेताहरुले बताएका छन् । गत फागुन २१ को निर्वाचनमा ठूलो हार बेहोरेपछि नेतृत्व परिवर्तनको निम्ति विशेष महाधिवेशनभन्दै एमालेका भातृसंस्थामा आबद्ध केही नेताहरुले हस्ताक्षर संकलन थालेका थिए । पार्टी अध्यक्ष केपी ओली प्रहरीको नियन्त्रणमा रहेको बेला सार्वजनिकरुपमा नेतृत्व परिवर्तनको हल्ला चलाएकोभन्दै संस्थापन पक्षले उनीहरुको आलोचना गरेको थियो ।

तात्कालिक कार्यवाहक अध्यक्ष रामबहादुर थापासहितका पदाधिकारीहरुले हस्ताक्षर संकलनमा संलग्न भनिएकाहरुलाई बोलाएर छलफल पनि गर्नुभएको थियो । प्रहरी नियन्त्रणबाट बाहिर आइसकेपछि अध्यक्षको स्वास्थ्यका कारण पार्टी बैठक भएको छैन । एमालेको विधानमा दुईतिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यले लिखितरुपमा विशेष महाधिवेशन माग गरेमा छ महिना बोलाउनुपर्ने व्यवस्था छ । हाल तीन चिरामा बिभक्त नेपाली कांग्रेस समेत एकजुट हुने अभियानमा देखिएपछि एमालेमा पनि पार्टीभित्र एकता कायम गराउने प्रयास थालिएको बताइन्छ ।