काठमाडौं,२४ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ चयन हुनु भएको छभने नयाँ कार्यसमिति समेत चयन भएको छ । महासंघको ६० औँ वार्षिक साधारण सभा तथा निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानअनुसार श्रेष्ठ अध्यक्ष बन्नुभएको हो । स्वतः अध्यक्ष हुने प्रावधान यसपछिका लागिभने विधानबाटै हटाइसकिएको छ । श्रेष्ठको कार्यकाल तीनवर्षको हुने छ । महासंघको एक वरिष्ठ उपाध्यक्षका लागि निर्वाचित सदस्यले पूर्वपदाधिकारी प्रतिस्पर्धीबाट चयनगर्न बाँकी छ । तीनजना उपाध्यक्ष गत २२ गते सम्पन्न निर्वाचनले चयन गरिसकेको छ । निर्वाचित उपाध्यक्षमा एसोसिएटतर्फबाट प्रबलजंग पाण्डे विजयी हुनुभएको छ । प्रतिश्पर्धी ज्यत्सोना श्रेष्ठ सुब्बालाई पराजितगर्दै पाण्डे उपाध्यक्ष बन्नुभएको हो । त्यसैगरी जिल्ला नगर उद्योग वाणिज्य संघबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी हुनुभएको छ । सो समूहबाट व्यवसायी उमेश डालमिया र कल्पना गैरे पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

वस्तुगत समूहतर्फबाट उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी हुनुभएको छ । प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजितगर्दै श्रेष्ठ विजयी हुनुभएको हो । विधानअनुसार महिलातर्फ र दुई राष्ट्रियतर्फका उपाध्यक्षका लागि भने वर्तमान निर्वाचित अवस्थाले मापदण्ड पूरा नभएको देखिएको छ । महिला उपाध्यक्ष चयनगर्न १२ जना सदस्य चयन भएको हुनुपर्ने विधानमा उल्लेख छ । नवनिर्वाचित सदस्यमध्येबाटै एकजना कोषाध्यक्ष बन्नुहुने छ । नवनिर्वाचित अध्यक्षले सात जना केन्द्रीय सदस्य मनोनयनगर्न बाँकी नै छ । गत मंगलबार सम्पन्न निर्वाचनबाट सदस्यतर्फ वस्तुगत संघ समूहबाट कार्यसमिति सदस्यमा १३ जना निर्वाचित हुनुभएको छ । जसअनुसार सागर ढकाल, पशुपतिदेव पाण्डे, अरनिको राजभण्डारी, नानिराज घिमिरे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, होमप्रसाद घिमिरे र संघर्ष विष्ट विजयी हुनुभएको छ । वस्तुगततर्फ चार जनाले भने समान ५०÷५० मत पाएर बराबर भएका छन् । यीमध्ये दुईजना नीराजन चलाउने र विप्लव अधिकारीले पहिलो आधा कार्यकाल (एक वर्ष छ महिना) तथा रघुनन्दन मारु र सुरज बन्जाडेले दोस्रो आधा कार्यकाल सदस्य बन्नुहुने भएको छ । वस्तुगतमा एक महिला सदस्यमा सुनिता न्हेम्हाफुकी विजयी हुनुभयो । वस्तुगत महासंघबाट कार्यसमिति सदस्य विश्वनाथ खनाल र सुनैना घिमिरे विजयी हुनुभएको छ । जिल्ला नगर उद्योग वाणिज्य संघबाट १५ जना कार्यसमिति सदस्य (खुला) निर्वाचित हुनुभएको छ ।

सो समूहबाट अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की निर्वाचित हुनुभएको छ । त्यस्तै प्रयास कार्की, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल पनि सदस्य निर्वाचित हुनुभएको छ । सोही समूहको दुई महिला सदस्यमा गीता अमात्य र हिरा भट्टराई निर्वाचित हुनुभयो । प्रदेशतर्फ जिल्ला र नगर उद्योग वाणिज्य समूहबाट कार्यसमिति सदस्यमा १४ जना निर्वाचित हुनुभएको छ । जस अनुसार कोशीबाट जीवन पराजुली र रमेश विश्वकर्मा, मधेशबाट अमरनाथ साह र विकासकुमार सारडा, बागमतीबाट प्रकाश मानन्धर र सविन श्रेष्ठ विजयी हुनुभएको छ । गण्डकी प्रदेशबाट पवीन्द्रकुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यज्ञप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णालीबाट पदमबहादुर शाही र पुरीचन्द्र देवकोटा निर्विरोध निर्वाचित हुनुभयो । सुदूरपश्चिमबाट पीताम्बर जोशी मात्र विजयी हुनुभएको छ । एसोसिएटतर्फ कार्यसमिति सदस्य १७ जना निर्वाचित हुनुभएको छ ।

जसमा अम्बिकाप्रसाद पौडेल, ईश्वरबहादुर जिसी, उज्ज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, कृष्णलाल महर्जन, दिवश न्यौपाने, प्रियराज रेग्मी र बटु लामिछाने विजयी हुनुभएको छ । यसै गरी बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, शक्तिकुमार बेगानी, सचिन ढकाल, सुयस प्याकुरेल, सुरज उप्रेती, सुशील थापा र हेमन्त गोल्छा पनि विजयी हुनुभएको छ । एसोसिएट महिलामा अभिज्ञा मल्ल र जुना माथेमा विजयी हुनुभयो । द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट एक कार्यसमिति सदस्य निर्वाचित हुने प्रावधान अनुसार मनोज पौडेल विजयी हुनुभएको छ । संस्थापक सदस्य समूहबाट गोपाल श्रेष्ठ र सुमनकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।