सेबु, २५ वैशाख । दक्षिण–पूर्व एशियाली राष्ट्रहरुको संघ (आसियान) को शिखर सम्मेलन फिलिपिन्सको सेबु शहरमा शुरु भएको छ, जहाँ क्षेत्रीय नेताहरु मुख्यरुपमा मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न गम्भीर आर्थिक प्रभावबारे छलफलगर्न भेला भएका छन् । इजरायल र इरानबीचको बढ्दो सैन्य तनावले विश्वव्यापी आपूर्ति श्रृंखलामा अवरोध ल्याएको छ, जसको प्रत्यक्ष असर तेल आपूर्ति, खाद्य मूल्य र व्यापारिक ढुवानीमा परेको छ । यसले दक्षिण–पूर्व एशिया क्षेत्रमा इन्धनको अभाव, महँगी र आर्थिक अस्थिरता बढाएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले यस सम्मेलनलाई ‘सीमित र व्यावहारिक एजेन्डा’ भएको बताउनुभयो । उहाँका अनुसार अहिलेको प्रमुख आवश्यकता क्षेत्रीय देशहरुबीच आपसी सहकार्य बढाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्नु हो । तर आसियानसँग आपतकालीन अवस्थामा तुरुन्तै प्रयोगगर्न सकिने बाध्यकारी ऊर्जा सहकार्य प्रणाली नभएकाले प्रभावकारी निर्णय लिन कठिनाइ हुने देखिन्छ ।

यसैबीच, म्यानमारको राजनीतिक संकट पनि परोक्ष रुपमा छलफलमा आएको छ । सन् २०२१ मा भएको सैन्य कूपछि देश गृहयुद्धमा फसेको छ, जसका कारण म्यानमालाई आसियानका उच्चस्तरीय बैठकहरुबाट आंशिक रुपमा अलग राखिएको छ । केही सदस्य राष्ट्रहरुले म्यानमासँग संवाद र क्रमिक रुपमा सम्बन्ध सुधार गर्नुपर्ने धारणा राखिरहेका छन् भने अन्य देशहरुले लोकतान्त्रिक सुधार बिना कुनै पनि पुनःसम्बन्ध सम्भव नहुने अडान लिएका छन् । त्यसैगरी, दक्षिण चीन सागरको विवाद पनि सम्मेलनको महत्वपूर्ण विषय बनेको छ । ब्रुनाइ, मलेसिया, फिलिपिन्स र भियतनामले उक्त समुद्री क्षेत्रमा आंशिक दाबीगर्दै आएका छन्भने चीनले लगभग सम्पूर्ण क्षेत्र आफ्नो भएको दाबीगर्दै आएको छ ।

यस विषयमा दुई दशकभन्दा बढी समयदेखि वार्ता चलिरहेको भएपनि अझै कुनै बाध्यकारी आचारसंहिता तयार हुन सकेको छैन, जसले समुद्री सुरक्षा र क्षेत्रीय तनावलाई जटिल बनाइरहेको छ । आसियान शिखर सम्मेलनले मध्यपूर्व युद्धको आर्थिक प्रभाव, क्षेत्रीय ऊर्जा संकट, म्यानमाको राजनीतिक अवस्था र दक्षिण चीन सागरको विवादजस्ता महत्वपूर्ण विषयहरुमा छलफल गरेपनि ठोस र बाध्यकारी निर्णय आउने सम्भावना कमजोर देखिएको छ । रासस, एएफपी