काठमाडौं,२५ वैशाख । संसद्, सुनुवाइ समितिको हिजोको बैठकले बैठक सञ्चालनसम्बन्धी कार्यविधि तयगरेको छ । संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सिफारिस गरेसँगै समितिले त्यसबारे औपचारिकपत्र प्राप्त भएपछि सुनुवाइ प्रक्रिया आरम्भगर्ने भनिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समितिकारुपमा रहेको सो समितिको पहिलो बैठकले सभापतिमा बोधनारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रुपमा पहिलोपटक हिजो बैठक भएको हो ।
समितिका सदस्यसचिव तुलबहादुर कँडेलले समितिको बैठक र सुनुवाइको कार्यविधि तय भएसँगै अब काम अघिबढाउन सहज भएको बताउनुभएको छ । कार्यकारिणीले सार्वजनिक महत्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरु तथा पदाधिकारीहरुको दक्षता, क्षमता र इमान्दारिता व्यवस्थापिकाद्वारा परीक्षणगरी कार्यपालिकालाई व्यवस्थापिकाप्रति उत्तरदायी र जवाफदेही तुल्याउने लोकतान्त्रिक पक्रियालाई संसदीय सुनुवाइ मानिन्छ ।
नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वाेच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानूनबमोजिम संसदीय सुनुवाइ हुनेभन्ने व्यवस्था गरिएको छ । रासस