काठमाडौं, २९ वैशाख । सरकारी नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी नेताहरु असन्तुष्ठ देखिनु भएको छ । संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हिजो प्रस्तुत नीति तथा कार्यक्रममा प्रतिक्रियादिँदै उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति रहबर अन्सारीले नवीनतम विषयवस्तु समेटिएकाले नीति तथा कार्यक्रम प्रगतिशील रहेको बताउनुभएको छ । उहाँले यसपालि नयाँ प्रकारको बजेट आउँछ । विगत लामो समयदेखि अड्किएका धेरै विषयवस्तुलाई बजेटले खुकुलो तुल्याउँछ भन्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुस्बु ओलीले नीति तथा कार्यक्रममा समेटिएका विषयवस्तु राम्रा भएपनि कार्यान्वयनका आधारमा मूल्यांकनगर्न उपयुक्त हुने प्रतिक्रिया दिनुभएको छ । उहाँले नीति तथा कार्यक्रम जहिले पनि राम्रो आउँछ, मुख्य विषय भनेको कार्यान्वयन हो, त्यो कस्तो हुन्छ हेर्नुपर्ने हुन्छ भन्नुभयो ।
त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज गुरुङकले नीति तथा कार्यक्रममा विभिन्न विषयका नवीनतम कार्यक्रम उल्लेख भए पनि त्यसका लागि स्रोत कसरी जुटाउने भन्ने स्पष्ट नदेखिएको प्रतिक्रिया दिनुभएको छ । उहाँले नीति तथा कार्यक्रममा समेटिएका कतिपय विषयवस्तु फरक छन् ।
यस्तो गर्ने, उस्तोगर्ने भनिए पनि कसरीगर्ने, कहाँबाट स्रोत जुटाउने भन्ने प्रष्ट दृष्टिकोण देखिन्न । अब बजेट कस्तो आउँछ हेर्नुपर्छ भन्नुभएको छ । एमालेका सांसद पुष्पराज कँडेलले नीति तथा कार्यक्रम विषयवस्तुका हिसाबले हिजोको निरन्तरताकारुपमा रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले विगतको निरन्तरका रुपमा नीति तथा कार्यक्रम आएको छ, केही नयाँ विषय पनि परेका छन् । बाँकी कार्यक्रम कार्यान्वयनका आधारमा मूल्यांकन हुनुपर्छ भन्नुभएको छ ।