बेइजिङ, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अकस्मात चीन पुग्दै हुनुहुन्छ भने अमेरिका र चीनबीच व्यापार, ताइवान र मध्यपूर्व युद्धजस्ता संवेदनशील विषयमा वार्ता हुने अपेक्षा गरिएको छ । हाल विश्वमा तनाव चर्किरहेका बेला बेइजिङले वाशिंटनसँग ‘थप स्थिरता र निश्चितता’ निर्माणगर्न सहकार्यगर्न तयार रहेको जनाएको छ । ट्रम्पले भोली बुधबारदेखि आगामी शुक्रबारसम्म चीनको भ्रमणगर्ने कार्यक्रम छ । सन् २०१७ पछि कुनै पनि अमेरिकी राष्ट्रपतिले चीनको भ्रमण गर्न लागेको यो पहिलो अवसर हुनेछ । चीनको विदेश मन्त्रालयले ट्रम्पको भ्रमण भोली बुधबारदेखि शुक्रबारसम्म हुने जानकारी दिएको छ । ह्वाइट हाउसले केही साताअघि नै भ्रमणको घोषणा गरिसकेको भए पनि बेइजिङले सोमबार त्यसको औपचारिक पुष्टि गरेको हो । शुरुमा मार्चको अन्त्य वा अप्रिलको प्रारम्भमा तय गरिएको भ्रमण अमेरिका–इजरायल र इरानबीच विकसित युद्धस्थितिका कारण पछि सारिएको थियो । भ्रमणअघि दुवै मुलुकबीच कूटनीतिक र आर्थिक गतिविधि तीव्र बनेका छन् । ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने शिखर वार्ताको एक दिनअघि दुवै देशका शीर्ष व्यापार वार्ताकारहरु दक्षिण कोरियाको राजधानी सियोलमा भेट्ने भएका छन् । उक्त भेटवार्तामा व्यापार तथा आर्थिक विषयका बाँकी मतभेद टुङ्ग्याउने प्रयास गरिने अपेक्षा गरिएको छ ।
यसलाई ट्रम्पको चीन भ्रमणको आधार तयार पार्ने उच्चस्तरीय तयारीका रुपमा हेरिएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा शीर्ष तहको कूटनीतिले चीन–अमेरिका सम्बन्धलाई दिशा दिने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले समानता, पारस्परिक सम्मान र आपसी हितका आधारमा अमेरिकासँग सहकार्य विस्तार गर्न चीन तयार रहेको उल्लेखगर्दै अस्थिर र आपसमा गहिरो रुपमा जोडिएको विश्वमा थप स्थिरता ल्याउन दुवै देशले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राख्नुभयो । सन् २०१७ मा ट्रम्पले गरेको अघिल्लो चीन भ्रमण अत्यन्तै प्रतीकात्मक मानिएको थियो । त्यसबेला उहाँले बेइजिङस्थित ‘टेम्पल अफ हेभन’ अवलोकन गर्नुका साथै भव्य राजकीय भोजमा सहभागिता जनाउनुभएको थियो । यसपटकको भ्रमण पनि उच्च राजनीतिक र कूटनीतिक महत्त्वको हुने बताइएको छ ।
ह्वाइट हाउसले भ्रमणलाई ‘अत्यधिक प्रतीकात्मक महत्त्व’ भएको भन्दै अमेरिकी जनताका लागि ‘उत्तम सम्झौता’ हासिल गर्ने लक्ष्य राखिएको जनाएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सियोलमा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग वार्ता गर्ने कार्यक्रम छ । बेसेन्ट र हे दुवै देशका व्यापार तथा आर्थिक मामिलाका मुख्य वार्ताकार मानिनुहुन्छ । उहाँहरुबीच हुने छलफलले ट्रम्प–सी शिखर सम्मेलनमा सम्भावित घोषणाहरुको अन्तिम रुप तय गर्न सक्ने अनुमान गरिएको छ । बेसेन्टले सियोल पुग्नुअघि जापानको टोकियोमा जापानी प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ताइवानसम्बन्धी ताकाइचीको हालैको टिप्पणीपछि बेइजिङ र टोकियोबीच यस विषयमा कूटनीतिक चासो र संवाद बढेको देखिएको थियो । बेसेन्टले सामाजिक सञ्जालमार्फत अमेरिका फष्र्ट आर्थिक एजेन्डालाई अघिबढाउने उद्देश्यसहित जापान र दक्षिण कोरियाको भ्रमण गर्न लागेको जानकारी दिनुभएको छ । यसपटक ट्रम्प–सी भेटमा मध्यपूर्वको युद्ध प्रमुख एजेन्डा बन्ने सङ्केत देखिएको छ ।
चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । गत साता इरानका विदेशमन्त्रीले बेइजिङ भ्रमण गर्नुभएको थियो । त्यस क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले क्षेत्रीय शान्ति पुनःस्थापनामा चीनले ‘ठूलो भूमिका’ खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । अमेरिकी अधिकारीहरुका अनुसार ट्रम्पले इरान युद्धबारे चीनको भूमिकामा राष्ट्रपति सीसँग स्पष्ट जवाफ खोज्ने अपेक्षा गरिएको छ । सोमबार पत्रकारहरुले अमेरिकी दबाबबारे प्रश्न गर्दा प्रवक्ता गुओले इरानसम्बन्धी चीनको अडान ‘स्थिर’ रहेको दोहो¥याउनुभयो । उहाँले युद्धविराम र शान्ति वार्तालाई अघि बढाउन चीनले सकारात्मक भूमिका निर्वाह गरिरहेको बताउनुभयो । यता, अमेरिकाले इरानलाई सहयोग गरेको आरोपमा चीनमाथि थप दबाब बढाएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार इरानको सैन्य गतिविधिलाई सहयोग गरेको आरोप लगाउँदै चीनस्थित तीनवटा स्याटेलाइट कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको थियो ।
अमेरिकी अर्थ मन्त्रालयले पनि मुख्य भूमि चीन र हङकङस्थित केही कम्पनीमाथि इरानको हतियार आपूर्ति सञ्जाललाई सहयोग गरेको आरोपमा छुट्टै प्रतिबन्ध लगाएको छ । चीनले भने अमेरिकाले लगाएको प्रतिबन्धलाई अवैध एकपक्षीय कदमभन्दै कडा विरोध जनाएको छ । विदेश मन्त्रालयले द्वन्द पुनः भड्किन नदिन सबै पक्षले संयमता अपनाउनुपर्ने उल्लेखगर्दै युद्धलाई अन्य मुलुकमाथि आरोप लगाउने माध्यमका रुपमा प्रयोग गर्नु उचित नहुने जनाएको छ । रासस, एएफपी