काठमाडौं,१ जेठ । लगानीकर्तामा अपेक्षाकृत कर्जा प्रवाह नभएको खुलाशा भएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले लगानीकर्तामा आत्मविश्वासको कमीका कारण अपेक्षाकृतरुपमा कर्जा प्रवाह नभएको बताउनुभएको छ । हालै आयोजित आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष श्रेष्ठले बैंकमा पर्याप्त तरलता हुनुका कारण व्यवसायीहरुमा आत्मविश्वासको कमी भएकाले न्यून ब्याजदरहुँदा पनि कर्जा प्रवाह अपेक्षाकृतरुपमा नभएको उल्लेख गर्नुभएको थियो । उहाँले उद्योगी अहिले लगानीका लागि पर्ख र हेरको अवस्थामा रहेको उल्लेखगर्दै यसको प्रभाव बैंकिङ क्षेत्रमा परेको बताउनुभएको थियो । पछिल्लो समय बैंकको खराब कर्जा बढिरहेको सन्दर्भमा केही गल्ती बैंकको पनि भएको उहाँको भनाइ थियो । अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा पनि केही अस्वस्थ प्रतिस्पर्धा छ, धैरे शाखा खोल्ने, जसरी पनि कर्जा बढाउन जस्तो पनि धितो राख्नेलगायतका समस्या छन्, हामीले यसमा सुधारगर्नु जरुरी रहेको बताउनु भएको थियो । सिबिफिनकाअनुसार हाल खराब कर्जा ५.३४ प्रतिशत पुगेको छ ।

जुन पछिल्लो १० वर्षयताकै सबैभन्दा बढी हो । बैंकको खराब कर्जा सन् २०२५ मा चार दशमलव ६२ प्रतिशत थियोभने सन् २०१७ मा दुई दशमलव ६३ प्रतिशत थियो । सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले समग्र अर्थतन्त्रमा समस्या आउँदा बैंकिङ क्षेत्र प्रभावित भएको बताउनुभयो । यद्यपि पछिल्लो समयको राजनीतिक परिवर्तनले भने सबैमा आशा जगाएको उहाँको भनाइ थियो । उहाँले राजनीतिक परिवर्तनले आमरुपमा ठूलो आशा जगाएको छ, सरकार अहिले सुशासन कायमगर्न लागेको छ, त्यसपछिको काम भनेको आर्थिक विकास नै हो भन्नुभएको थियो । सरकारले सातवर्षमा १०० अर्ब डलरको अर्थतन्त्रका लागि पनि लगानी बढाउनुको विकल्प नभएकाले लगानीमैत्री वातावरणभने निर्माण हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले बैंकिङ क्षेत्रमा पनि अस्वस्थ प्रतिष्पर्धालाई स्वीकार गर्दै त्यसमा सुधार जरुरी भएको बताउनुभएको थियो ।

सिबिफिनका महासचिव मनोजकुमार गोयलले निर्माण क्षेत्र सुस्तहुँदा कर्जा प्रवाह कम भएको तर खराब कर्जा बढ्दा पनि बैंकिङ क्षेत्र कमजोरभने नभएको उल्लेख गर्नुभएको थियो । उहाँले बैंकमा ब्याजदर घट्दो छ, तर निक्षेपको ब्याजदर कमजोरहुँदा पूँजी पलायनको जोखिम पनि बढेको छ । बैंकिङ क्षेत्र अर्थतन्त्रको रिफ्लेक्सन पनि हो, अर्थतन्त्र राम्रो भएनभने बैंकिङ क्षेत्रमा पनि काम्रो हुँदैन भन्नुभएको थियो ।