
काठमाडौं,१ जेठ । छवटा बिभिन्न कम्युनिष्ट पार्टी सम्बद्ध किसान संगठनहरुले सुकुम्वासी आन्दोलनप्रति ऐक्यबद्धता जनाएपछि आन्दोलन चर्कने संकेत देखिएको छ । काठमाडौंको माइतीघर मण्डलामा हिजो संयुक्त राष्ट्रिय सुकुम्वासी संघर्ष समितिको धर्ना तथा सभा कार्यक्रममै पुगेर उहाँहरुले ऐक्यबद्धता जनाउनु भएको हो । उहाँहरुले संघर्ष समितिका महासचिव अर्जुन कुँवरसँग भेटगरी सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पक्षमा आफूहरुले लगातार संघर्ष गर्दैआएको जनाउनुभएको थियो ।
उहाँहरुले बर्तमान सरकारले देशव्यापीरुपमा सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई बिचल्ली पारेकोमा आफूहरुले त्यसका विरुद्ध संघर्षगर्ने जनाउँदै सुकुम्वासी संघर्ष समितिसित सहकार्यगर्न इच्छुक रहेको बताउनुभएको थियो । संघर्षप्रति ऐक्यबद्धता जनाउन अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी र कोषाध्यक्ष केबी घले, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलदेव चौधरी, क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङ, नेकपाका संयोजक लोकनारायण सुवेदी, किसान नेताहरु भरत फुयाँल, अगस्त चौधरी, रामकुमार कार्की, चन्द्रमान तामाङ, भूमि आयोगका पूर्वअध्यक्ष केशव निरौला र हरिप्रसाद रिजाल, पूर्वउपाध्यक्ष नहेन्द्र खड्का, सदस्यहरु भैरवराज रेग्मी र सतनकुमार रेग्मीको पनि उपस्थिति रहेको थियो ।