काठमाडौं,१ जेठ । नेपालमा चिनीको हाहाकार हुने अवस्थाको सिर्जना भएको छ । भारतले घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चितगर्ने र मूल्यवृद्धि नियन्त्रणमा राख्नेभन्दै चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएपछि उपरोक्त अवस्था सिर्जना भएको हो । विश्वका सबैभन्दा ठूला चिनी उत्पादकमध्ये एक भारतले आगामी सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको छ । भारतीय सरकारले गत बुधबार राति जारीगरेको आदेशअनुसार यो प्रतिबन्ध तत्कालबाट लागूभएको छ । आदेशमा सीमित अपवादबाहेक चिनी निर्यात रोकिएको उल्लेख गरिएको छ । यसअघिनै निर्यात प्रक्रियामा रहेका केही कन्साइनमेन्टलाई भने छुटदिइने जनाइएको छ ।
सरकारले अन्य मुलुकसँग खाद्य सुरक्षासम्बन्धी सरकारी सम्झौताअन्तर्गत हुने निर्यातलाई भने अनुमति दिइने स्पष्ट पारेको छ । अक्टोबरबाट शुरुहुने नयाँ चिनी उत्पादन सिजन एल निनो मौसमी प्रभावका कारण प्रभावित हुनसक्ने अनुमान गरिएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । भारतीय मौसमविद्हरुले औसतभन्दा कम मनसुन हुने सम्भावना औँल्याएपछि सरकारले आपूर्ति संकटबाट जोगिन अग्रिम कदम चालेको भनिएको छ ।
एल निनोका कारण वर्षा कम भएमा ऊखु उत्पादनमा प्रत्यक्ष असरपर्ने र त्यसले चिनी उत्पादन घटाउन सक्ने आशंका गरिएको छ । भारतमा चिनी दैनिक उपभोगसँगै खाद्य उद्योगको महत्वपूर्ण कच्चा पदार्थसमेत भएकाले यसको मूल्यवृद्धिले व्यापक असरपार्न सक्ने ठानिएको छ ।