काठमाडौं,३ जेठ । सरकारले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायमगर्न पूर्णरुपमा प्रतिबद्ध रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवं सरोकारवालामा चिनीलगायत दैनिक उपभोग्य वस्तु अनावश्यक सञ्चिति नगर्न आग्रह गर्नुभएको छ । पछिल्लो पटक भारत सरकारले चिनी निर्यातसम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी निर्यातमा प्रतिबन्ध लगाएको विषयप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले उपभोक्ताको हित, बजार मूल्यको स्थिरता तथा चिनीको सहज उपलब्धतालाई प्राथमिकतामा राखी आवश्यक कार्य गरिरहेको स्पष्टपार्दै मन्त्रालयले सहज तथा सुलभ मूल्यमा नियमित आपूर्तिका लागि पहल भइरहेको बताएको छ । हाल सञ्चालनमा रहेका चिनी उद्योगबाट उत्पादन भई मौज्दातमा रहेको परिमाण र हालसम्म आयातभई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलगायतसँग करिब आठ महिनाको माग धान्ने अवस्था छ । नियमित बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा निकायगत एवम् तहगत समन्वयलाई थप प्रभावकारी बनाउँदै बजारमा कृत्रिम अभाव, कालोबजारी, अनुचित मौज्दात तथा अस्वाभाविक मूल्यवृद्धि हुननदिन मन्त्रालय प्रतिबद्ध रहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।
चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न सरकार प्रयासरत रहेको स्पष्ट पारिएको छ । मन्त्रालयले कृषि, वन तथा पर्यावरण मन्त्रालयले उन्नत जातका उखुमार्फत उत्पादनको दक्षता वृद्धि, नवप्रवर्तन, आधुिनक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने मन्त्रालयले तयारी गरेको छ । यसैगरी, उत्पादन प्रवद्र्धन, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाइने प्रवक्ता सुवेदीले उल्लेख गर्नुभएको छ । रासस