
काठमाडौं,३ जेठ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपालमा गणतन्त्र सिध्याउने खेल भैरहेकोभन्दै चिन्ता ब्यक्त गर्नुभएको छ । राजमो अर्घाखाँचीले हिजो शनिबार सन्धिखर्कमा आयोजना गरेको ‘देशको वर्तमान परिस्थिति तथा संविधान संशोधन’ विषयक अन्तरक्रियामा प्रमुख वक्ताकारुपमा बोल्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा उहाँले संविधान संशोधनको नाममा गणतन्त्र कमजोर बनाउने खेल भएको बताउनुभएको थियो । महासचिव भट्टले देशको वर्तमान राजनीतिक परिस्थिति, संविधान संशोधन र बदलिँदो राष्ट्रिय÷अन्तर्राष्ट्रिय शक्तिसन्तुलनको विषयमा पार्टीको आधिकारिक धारणा राख्नुभएको थियो । उहाँले संविधान संशोधनको नाममा गणतन्त्रलाई कमजोर बनाउने प्रयास हुनसक्ने भन्दै त्यसप्रति सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरु सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।
उहाँले अहिलेको अवस्थामा गणतन्त्रको रक्षागर्नु नै पहिलो आवश्यकता भएको उल्लेखगर्दै संविधान संशोधनगर्दा राष्ट्रियता, सार्वभौमिकता र जनताले संघर्षबाट प्राप्तगरेका उपलब्धिको संरक्षण हुनुपर्दछ भन्नुभएको थियो । उहाँले वर्तमान संविधानमा रहेको संघीय संरचना मुलुकका लागि आर्थिक तथा प्रशासनिकरुपमा बोझ बनेको दाबीगर्दै संघीयता खारेजगर्नु अपरिहार्य रहेको बताउनुभएको थियो । उहाँले निर्वाचन प्रणाली परिवर्तनगर्ने विषय अहिले उपयुक्त नभएको उल्लेखगर्दै विद्यमान प्रणालीमै सुधार र स्थायित्व आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले नेपालको राजनीतिक घटनाक्रमलाई अन्तर्राष्ट्रिय शक्तिसँग जोड्दै पुराना राजनीतिक दलले चीनलाई मित्रराष्ट्रका रुपमा स्वीकार गर्दा अमेरिकाको रणनीतिक उद्देश्य पूरा हुन नसकेको र त्यसैको परिणामस्वरुप राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको दाबी गर्नुभएको थियो ।
उहाँले रास्वपाले अघिसारेका राजनीतिक एजेन्डा दीर्घकालीनरुपमा सफल हुन नसक्ने टिप्पणीसमेत गर्नुभएको थियो । सो कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नेकपा (एमाले) लुम्बिनी प्रदेश सदस्य केबी भुसाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका संयोजक राजेन्द्र नेपाली, प्रतिनिधिसभाका पूर्वसांसद बिजुला रायमाझीलगायतले बोल्दै संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएकाले यसको मूलमर्म र गणतान्त्रिक चरित्र कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउनुभएको थियो ।