काठमाडौं,३ जेठ । एमालेको सचिवालयको बैठक भोली मात्र बस्ने भएको छ । हिजो शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित गरेर भोली सोमबारका लागि सारिएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीकाअनुसार आज आइतबार मदन–आश्रित स्मृति दिवस भएकाले त्यसको तयारीमा नेताहरु जुट्नुपर्ने भएकाले बैठक सोमबारका लागि सारिएको हो । बैठकमा सहभागी हुनुपर्ने कतिपय नेताहरु स्मृति दिवसको कार्यक्रमका लागि उपत्यका बाहिरसमेत जानुपर्ने भएकाकारण अन्तिम समयमा आएर सचिवालय बैठक स्थगित गरिएको उहाँको भनाई छ । गत मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न ११औँ महाधिवेशनपछि एमालेको यो आठौँ सचिवालय बैठक हो ।

अध्यक्ष ओलीको स्वास्थ्य समस्या, गिरफ्तारी र राजनीतिक घटनाक्रमका कारण लामो समयदेखि पार्टीको औपचारिक र निर्णायक बैठक बस्न सकेको थिएन । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनगर्ने क्रममा प्रहरीले अध्यक्ष ओलीलाई चैत १४ गते पक्राउ गरेको थियो । पक्राउपरेको १२ दिनपछि अदालतको आदेशमा थुनामुक्त हुनुभएका ओलीको चैत ३० गते पत्थरीको शल्यक्रिया गरिएको थियो ।

गत वैशाख ५ गते अस्पतालबाट डिस्चार्ज भएपछि उहाँ घरमै स्वास्थ्य लाभ गरिरहनु भएको छ । सो पार्टीका सचिव महेश बस्नेतले सचिवालय बैठकले देशको समसामयिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण, केन्द्रीय नेताहरुको कार्यविभाजन र सरकारका काम कारबाहीको गम्भीर समीक्षागर्ने जानकारी दिनुभएको छ ।