काठमाडौं,३ जेठ । सरकारले बिस्थापित गराएका सुकुम्बासीहरुले आगामी सातगतेभित्र आफूहरुको उचित ब्यवस्था नगरिए पालहालेर भएपनि फेरी पुरानै ठाउँमा बस्ने घोषणागरेका छन् । बिस्थापित सुकुम्बासीहरुलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा(मसाल) लगायतका अधिकांश कम्युनिष्ट पार्टीहरुको सहयोग र समर्थन रहेको छ । त्यसैगरी नेपाली कांग्रेसलगायतका अन्य पार्टीले पनि सरकारको सुकुम्बासी बिस्थापन नीतिको बिरोध गरेका छन् । यसैक्रममा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई डोजर लगाएर उठिबास लगाएपछि निरन्तररुपमा आन्दोलित हुँदैआएको छ ।
गत बैशाख ३१ मा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको मोर्चाले जेठ एकगते शंखमूल र मनोहराको सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा विरोध प्रदर्शन गरेको थियो । ०३० सालदेखि बसोबासगर्दै आएका शंखमूलका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको उपस्थितिमा भएको विरोध कार्यक्रममा मोर्चाका नेताहरुले आगामी सातगतेसम्ममा वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको बासको व्यवस्थापन नगरे जेठ आठगतेबाट भत्काइएकै बस्तीमा टेन्ट हालेरबस्ने चेतावनी दिएका थिए । विरोध प्रदर्शनलाई सम्बोधनगर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका नेता नारायण परिश्रमीले सरकारले १५ दिनभित्र सुकुम्बासीहरुको वैकल्पिक व्यवस्थापनगर्ने भनेर घरमा डोजर लगाएर उठिबास लगाइदियो । तर करिब महिना दिन बित्न लाग्दासमेत कुनै व्यवस्थापन गरेन । अब हामी जेठ सातगतेसम्म पर्खन्छौं ।
त्यस अवधिभित्र व्यवस्थापन नगरे जेठ आठगतेबाट हाम्रा घर भत्काइएकै ठाउँमा संयुक्त राष्ट्रसंघ, राष्ट्रिय मानव अधिकार र मिडियाहरुको रोहबरमा टेन्ट हालेर बस्छौं भन्नुभएको थियो । उहाँले त्यसबेला राज्यले दमन ग¥योभने त्यसबाट उत्पन्न हुने परिस्थितिको राज्य आफै जिम्मेवार हुने पनि बताउनु भएको थियो । त्यसैगरी सुकुम्बासी मोर्चाकी नेतृ बिना बज्राचार्य, इन्द्र तामाङले पनि होल्डिग सेन्टरमा सुकुम्बासीहरुलाई बन्दीकोजस्तो व्यवहार गरिएको, मनोवैज्ञानिक रुपमा ठूलो यताना शिविरजस्तो बनेको, क्षणिक प्रलोभनमा भुल्याउन अनेक प्रचारबाजी गरेकोभन्दै दीर्घकालीन वैकल्पिक व्यवस्थापन नगरे बस्तीमै आएर बस्नुको कुनै विकल्प रहँदैन भन्नुभएको थियो । गत शुक्रबार मनोहरामासमेत विरोध प्रदर्शन भएको थियो ।
बर्तमान सरकारले उपत्यकाका १९ वटा सुकुम्बासीहरुमा जोडर लगाएर उठिबास लगाएको बताइन्छ । कतिपय सुकुम्बासीहरु होल्डिंग सेन्टरमा राखिएको छ र कतिपयले आफन्तहरुको घरमा शरण लिएका छन् । बर्तमान सरकारका लागि सुकुम्बासी समस्या महँगोपर्ने जानकारहरुको भनाई छ ।