काठमाडौं,४ जेठ । बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बागमती प्रदेश सरकार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको सहकार्यमा हिजो भक्तपुरमा सम्पन्न सम्मेलनमा युवा उद्यमीले उद्योगको विकास र रोजगारीको अवसर सृजनागर्ने विषयमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेश उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले नवप्रवर्तन उद्यमी विकासमा प्रदेश सरकारले उद्योगीसँग सहकार्य गर्नेगरी अगाडि बढ्ने योजना बनाइरहेको बताउनुभयो । उहाँले युवा उद्यमीको विकासका लागि प्रदेश सरकारले आवश्यक सहकार्य गर्न तयार रहेको बताउँदै युवापुस्तालाई वैदेशिक रोजगारीमा जानबाट रोक्नका लागि स्वदेशमै रोजगारी अवसर बनाउने र स्वरोजगारको वातावरण बनाउन उद्यमी लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष वेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ भक्तपुरका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिलगायत वक्ताले नयाँ उद्यमीको विकासका लागि तीन तहका सरकारले सहकार्यका नीति ल्याउँदै दिगो उद्योग व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने बताउनुभयो ।
सम्मेलनमा बागमती प्रदेशभित्रका ५०० भन्दाबढी युवा उद्यमी तथा व्यवसायीको सहभागिता रहेको बताउँदै युवा उद्यमीको विकास र नयाँ उद्यमीको प्रवद्र्धनको अभियान सम्मेलनले शुरुगरेको युवा उद्यमी उपसमितिका संयोजक एवं सम्मेलनका संयोजक कृतन अवालले बताउनुभएको थियो । एक व्यवसायीले शुरु गरेको व्यवसायलाई अरुले पनि नक्कल गरेर एउटै व्यवसाय धेरैले सञ्चालन गर्ने प्रवृत्तिको अन्त्यगरी बजार आवश्यकताको पहिचान गरेर फरकफरक व्यवसाय एवं उद्योग सञ्चालनमा लाग्नुपर्ने सम्मेलनको निष्कर्ष रहेको उहाँले बताउनुभयो । सम्मेलनले स्टार्टअप तथा नवप्रवर्तन संस्कृतिका विकास, युवा उद्यमशीलतालाई प्रवद्र्धन, लगानी तथा बजार पहुँच विस्तार, नीति समन्वय एवं नवप्रवर्तन मैत्री वातावरण निर्माण गर्नेलगायत विषयमा छलफल भएको भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, स्टार्टअप प्रदर्शनीलगायत आयोजना गरी उद्योगको विकासका बारेमा छलफल भएको थियो । विज्ञका रुपमा सुवास शर्मा, विनायक शाह, डा प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, बलराम सञ्जेल र सुगारिका केसीले समूहगत छलफल गरी उद्योगको नयाँ ढाँचाका बारेमा चर्चा गर्नुभएको थियो । सफल उद्यमीले आफ्नो उद्यम यात्रा, संघर्ष, सिकाइ र सफलताका अनुभव प्रस्तुत गर्नुभएको थियो भने सैफ गौचन, श्रीया गिरी, सन्तोष पाण्डेय, निष्ठा कायस्थ, केश्मा थापालगायतले आफ्नो व्यावसायिक अवधारणा तथा स्टार्टअप योजना विज्ञको समूह समक्ष प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनमा विभिन्न स्टार्टअप तथा नवप्रवर्तन उद्यमद्वारा उत्पादित सेवा तथा वस्तुको ३० वटा प्रदर्शनी कक्ष राखिएका उपसमितिका संयोजक अवालले जानकारी दिनुभयो । यसैगरी, संघले यहीँ जेठ १५ र १६ गते दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला–२०८३ आयोजना गर्ने भएको छ । ‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यावसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर नगरपालिकास्थित भक्तपुर औद्योगिक क्षेत्र परिसरमा मेला सञ्चालनगर्ने कार्यक्रममा जानकारी दिइएको हो । रासस