काठमाडौं,४ जेठ । सुकुम्बासीहरुले वैकल्पिक व्यवस्था नगरी भूमिहीन तथा सुकुम्बासी बस्तीमा डोजर चलाइए देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिएका छन् । उनीहरुले हिजो रुपन्देहीको बुट्वलमा विशाल प्रदर्शन समेत गरेका थिए । चर्को घामका बीच सयौँ प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । उनीहरुले सरकारविरुद्ध नाराबाजीगर्दै आफूहरुको बाँच्न पाउने अधिकारमाथि हस्तक्षेप भए प्रतिरोधमा उत्रिने चेतावनी दिएका थिए । नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर, गाँस, बासको सुनिश्चितता गर, डोजर आतंक बन्द गर, गरिबलाई बाँच्न देजस्ता नारा लगाएका थिए । प्रदर्शनकारीहरुले बुटवलको राजमार्ग चौराहाबाट नाराबाजीगर्दै ट्राफिकचोक पुगेर कोणसभा पनि गरेका थिए । सो सभामा बोल्दै संघर्ष समितिका अगुवाहरुले वैकल्पिक व्यवस्था नगरी गरिब बस्तीमा डोजर चलाउनु अन्यायपूर्ण हुने बताएका थिए । उनीहरुले नागरिक भएर बाँच्न पाउने अधिकार सुनिश्चितगर्न मागगर्दै समस्या समाधान नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका थिए ।

संघर्ष समिति रुपन्देहीका संयोजक खगेन्द्र पौडेलले सरकारले आफ्नै नागरिकमाथि अमानवीय व्यवहार गरिरहेको आरोप लगाउनुभएको थियो । उहाँकाअनुसार देशभर झण्डै १२ लाख परिवार वैकल्पिक व्यवस्था बिना बस्ती हटाउने सरकारी तयारीबाट प्रभावित भएका छन् । अर्का प्रतिनिधि राजु शाहीले गरिब जनताको मतबाट बनेको सरकारले तिनै नागरिकमाथि डोजर आतंक मच्चाएको आरोप लगाउनु भएको थियो । उहाँले काठमाडौंका सुकुम्बासी बस्तीमा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारबाट समेत वञ्चित गराइएको दाबीगर्दै देशका अन्य स्थानमा पनि त्यस्तै अवस्था दोहोरिए आन्दोलन अझ सशक्त बन्ने चेतावनी दिनुभएको थियो ।

कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके, बर्दिया लगायत २२ जिल्लाबाट भूमिहीन तथा सुकुम्बासी सहभागी भएका थिए । यसैबीच आज सोमबार बुटवलमै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ । देशका बिभिन्न जिल्लाबाट प्रतिनिधिहरु बुटवल पुगिसकेको आयोजकले जनाएको छ । सम्मेलनले आगामी आन्दोलनलाई थप प्रभावकारी बनाउने रणनीतिसहित राष्ट्रिय मोर्चा गठन गर्ने तयारी गरेको बताइएको छ ।