
काठमाडौं,४ जेठ । राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीले नेपालमै नेपालीहरुलाई नै अल्पमतमा पार्ने योजनाबद्ध खेल भइरहेको खुलाशा गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाले जिल्ला समिति प्युठानको आयोजनामा ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम प्युठानको पुण्यखोलामा हिजो आयोजना गरेको थियो । नेपालीले सोही कार्यक्रममा उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा मन्तव्य राख्दै कार्यवाहक अध्यक्ष नेपालीले नेपालमा विदेशी नागरिकको संख्या बढ्दै गएकोतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस क्रममा उहाँले देशमा नेपालीहरुलाई नै अल्पमतमा पार्ने योजनाबद्ध खेल भइरहेको धारणा पनि राख्नुभएको थियो । अध्यक्ष नेपालीले संघीयता नेपालमा भित्राउनुको मुख्य उद्देश्य देश टुक्राउउने रहेको भन्दै आम नेपाली जनता यसप्रति सचेत हुन आग्रह गर्नुभएको थियो ।
उहाँले राष्ट्र र राष्ट्रियताको सवालमा, गणतन्त्र र संविधानका मूल मर्मलाई जोगाउन सबै पार्टीहरु एकठाउँमा उभिनुको विकल्प नभएको बताउनुभएको थियो । सोही अन्तरक्रिया कार्यक्रममा बोल्दै राजमो केन्द्रीय सदस्य कृष्ण खड्काले वर्तमान सरकारलाई हेर्दा देश अत्यन्तै अप्ठ्यारो स्थितिबाट अगाडि बढेकोभन्दै सबै सतर्क हुन आग्रह गर्नुभएको थियो । एमालेका प्युठानका अध्यक्ष विजयविराज विष्टले नेपालका ठूला पार्टीहरु कांग्रेस, एमालेको कारण गणतन्त्र स्थापना भएको भएपनि जनतामा सही सुशासन र जवाफदेहिता नहुनुको कारण अहिलेको अवस्था आएको बताउँदै अब दलहरु सच्चिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभउको थियो । नेपाली कांग्रेस प्युठानका सभापति विष्णुकुमार गिरीले कार्यक्रममा बोल्दै हाम्रा दलका कतिपय व्यवहारका कारण आमजनतामा निराशा पैदा भएको, भ्रष्टाचार सुशासनमा समस्याका कारण हालको अवस्था आएको बताउँदै संघीयतालाई नेपाल सुहाउँदो बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
नेकपा मसालका लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिजीले नेपालमा कुनै पनि हालतमा संघीयता ठीक नभएको भन्दै यो विदेशीले बोकाएको एजेन्डा भएकोभन्दै यसलाई खारेजीको विकल्प नभएको बताउनुभएको थियो । नेपाल बार एशोसिएसनका केन्द्रीय सदस्य डा. शिवराज पण्डितले नेपालको संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र संघीयताको विषयलाई समावेश गरिँदा आर्थिक संकट उत्पन्न भएकोभन्दै शासकीय स्वरुपबारे पुनर्विचार गर्नुपर्ने बताउनुभयो कार्यक्रममा बार एसोसिएसन प्युठानका पूर्व अध्यक्ष विदुर मल्ल र मेघराज भट्टले पनि आआफ्नो भनाइ राख्नुभएको थियो । प्रमुख अतिथि नेपालीले अवधारणापत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेको अध्यक्षता तथा राजमो नेता अमरध्वज रानाको सञ्चालनमा अघि बढेको थियो ।