
काठमाडौं,४ जेठ । नेपाली कांग्रेस बिभाजनको संघारमा पुगेको र पार्टीलाई अस्तब्यस्त बनाउन गगन थापा र बिश्वप्रकाश शर्माले प्रमुख भूमिका निर्वाह गरेको ब्यापक प्रचार भएपछि थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर कामगर्न चाहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा हिजो आयोेजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभएको थियो । उहाँले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित भएका नेताको ठूलो पंक्ति बाहिर छ, १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरु जो हुनुहुन्न मेरो समितिभित्र, म अहिलेको केन्द्रीय समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जसलाई जे ठाउँमा राखेर हुन्छ म उहाँहरुलाई सँगै राखेर कामगर्न चाहन्छु भन्नुभएको थियो ।
सभापति थापाले पार्टीको १५औँ महाधिवेशनको मिति तयभएको र प्रेमबहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति बनेको उल्लेख गर्दै त्यसमा अरुलाई पनि समेट्न आफू तयार रहेको बताउनुभएको थियो । उहाँले महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा सदस्यता जाँचबुझ समिति रहेको स्मरण गराउँदै त्यसमा पनि थप सदस्य राख्न आफू तयार रहेको बताउनुभएको थियो । अनुशासन समितिको नेतृत्व तारामान गुरुङले गरेको जानकारीदिँदै उहाँले त्यसमा पनि कतिपय सदस्य समेट्न सकिने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा संविधानविद् विपीन अधिकारी, कूटनीतिक व्यक्तित्व शम्भुराम सिंंखडा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, समाजका पूर्वअध्यक्ष हरिहर दाहाल, प्रजातन्त्रवादी कानुन व्यवसायी संघका अध्यक्ष सीताराम केसी र शेरबहादुर केसी, नेपाल प्रेस यूनियनका अध्यक्ष शिव लम्साल, पत्रकार गोकर्ण अर्याल, डा वासुदेव भण्डारीलगायतले मुलुकको समसामयिक राजनीतिमा नेपाली कांग्रेसले खेल्नुपर्ने भूमिकाबारे आआफ्नो धारणा राख्नुभएको थियो । अर्कातिर शेरबहादुर देउवा समूहले नयाँ कार्यालय स्थापना गरेर देशब्यापि समानान्तर गतिबिधि सञ्चालनगर्ने तयारी गरेको बताइएको छ ।