काठमाडौं,४ जेठ । नेपालमा विदेशी लगानीमा एकाएक गिरावट आएको देखिएको छ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम अत्यन्तै न्यून रहेको छ । महालेखापरीक्षकको कार्यालयको ३३ औँ वार्षिक प्रतिवेदनकाअनुसार आर्थिक वर्ष ०८१÷८२ मा एक हजार नौ विदेशी लगानीकर्ताबाट ७९ अर्ब ६९ करोड बराबरको लगानी प्रस्ताव स्वीकृत भएको थियो । त्यसमा जम्मा ९७ लगानीकर्ताबाट मात्रै ११ अर्ब ३० करोड भित्रिएको छ । यो स्वीकृत लगानीको १४ प्रतिशत हो ।
सार्वजनिक प्रतिवेदनअनुुसार पछिल्लो समय वैदेशिक लगानीको प्रतिबद्धता र वास्तविक प्राप्तिको अनुपात क्रमशः घट्दो देखिएको छ । आव ०७९÷८० मा स्वीकृत ३२ अर्ब ४८ करोडको प्रस्तावमध्ये नौअर्ब २० करोड प्राप्त भएको छ । जुन समग्रमा २८ प्रतिशत हो । त्यसैगरी आब ०८०÷८१ मा स्वीकृत भएको लगानीको जम्मा १३ प्रतिशतमात्रै प्राप्त भएको देखिन्छ । सो आवमा ८१ अर्ब ६९ करोडको लगानी स्वीकृत भएकामा रु १० अर्ब २९ करोड मात्रै प्राप्त भएको थियो ।