काठमाडौं,११ जेठ । बिभिन्न बिद्यार्थी संगठनहरुले बिद्यार्थी संगठन खारेजी विरुद्ध प्रदर्शन जारी राखेका छन् । यसैक्रममा नेकपा(मसाल) सम्बद्ध अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (छैठौँ) ले बिद्यार्थी संगठन खारेजी विरुद्ध काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय अध्यक्ष सुभाष जिसी, महासचिव पुरन पोख्रेललगायत केन्द्रीय पदाधिकारी तथा सदस्यको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिद्यार्थीले विभिन्न विषयमा नाराबाजी गरेका थिए । बिद्यार्थी संगठन खारेजीको निर्णय तुरुन्त फिर्ता गर !, बढ्दो मूल्यवृद्धि नियन्त्रण गर !, भदौ २३ गतेको आपराधिक र भदौ २४ गते देश जलाउने दुवै अपराधीलाई कारबाही गर !, विद्यालय शिक्षा ऐन जारी गर !, टिओबीलाई प्रतिबन्ध गर !, सुकुम्वासीलाई होल्डिङ सेन्टरको नर्कबाट तुरुन्त व्यवस्थापन गर !, अमेरिकी युथ काउन्सिल तुरुन्त खारेज गर !, सहकारी ठगलाई कारबाही गर ! लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा मन्तव्य राख्दै कोषाध्यक्ष समष्टि बुढाले बिद्यार्थी संगठन नागरिकको वास्तविक आवाज भएको दाबी गर्नुभएको थियो । सीमाविवाद र राष्ट्रियताको सवाल उठाउँदै उहाँले नेपाली भूमिमा रहेको कालापानी भारतीय तीर्थयात्री र व्यापारीका लागि खुलागरिने तर नेपाली जनता र नेपाल सरकारकै पहुँचबाट टाढा राखिनु लज्जास्पद छ भन्नुभएको थियो । उहाँले राजा महेन्द्रको पालादेखि बस्दैआएको भारतीय सेना हटाउन र सीमाविवाद हलगर्ने क्रममा सरकारले भारतीय साम्राज्यवादसामु घुँडा टेक्न नहुने आवश्यकतामा जोड दिनुभएको थियो । त्यसैगरी सचिवालय सदस्य सेवक भट्टराईले लामो इतिहास बोकेका बिद्यार्थी संगठनलाई सिध्याएर देशमा वैदेशिक हस्तक्षेप बढाउन खोजिएको आरोप लगाउनुभएको थियो । उहाँले साम्राज्यवादी शक्तिले नेपालमा युथ काउन्सिल र युथ पायोनियरजस्ता संगठन खडागरेर सांस्कृतिक हमला गरिरहेका छन् ।

तराईमा भारतीय सत्ता पक्षका संगठन विस्तार भइरहेका छन् । सरकार तिनलाई रोक्नुको साटो नेपालमा राणा शासन र पञ्चायत ढाल्न लडेका बिद्यार्थी संगठनलाई क्याम्पस छिर्न नदिएर प्रतिबन्ध लगाउन खोज्दैछ । यो सरासर निरंकुशता हो भन्नुभएको थियो । भट्टराईले भारतले कालापानी र सुस्ता मिच्दा, देशभित्र मधेसी र दलित समुदायले उत्पीडन भोग्नुपर्दा सरकार मौन बसेको तर आफ्नै देशका भूमिहीन सुकुम्बासीलाई डोजर लगाएर भगाउँदै विदेशी शरणार्थीलाई क्याम्प बनाएर राखेकोभन्दै सरकारको राष्ट्रियतामाथि प्रश्न उठाउनुभएको थियो ।