
काठमाडौं,१२ जेठ । नेपाली कांग्रेसका संस्थापन पक्षका सभापति शेरबहादुर देउवा र उहाँकी श्रीमती डा. आरजु देउवा पार्टीको बिवाद मिलाउन छिट्टै स्वदेश फर्कनु हुनेभएको छ । उहाँहरुलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश दिएपछि उहाँहरु स्वदेश फर्कने वातावरण बनेको हो । न्यायाधीशहरु महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट जारीभएको पक्राउ पूर्जीको विषयमा पक्राउ नगर्न अन्तरिम आदेश जारी दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धानगर्न पक्राउ पूर्जी जारीगरेको भनिएको थियो । पक्राउ पूर्जीविरुद्ध सर्वोच्च अदालतमा रिटदायर भएकोमा अन्तरिम आदेश भएको छ । सर्वोच्चले पक्राउ अनुमति माग्दा र दिँदा पालना गर्नुपर्ने कानूनी उचित प्रक्रिया पूरा नभएको औंल्याएको छ । पक्राउगर्नुपर्ने स्पष्ट आधार र कारणहरु नखुलाई हचुवाका भरमा अनुमति मागिएको र दिइएको अदालतको प्रारम्भिक ठहर रहेको छ । ०८३ वैशाख १८ को अध्यादेशले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा हेर्ने अधिकार विशेष अदालतलाई दिएको अवस्था छ ।