
काठमाडौं,१२ जेठ । एमालेमा महा एकता अभियान सञ्चालनको तयारी भैरहेको थाहा भएको छ । पार्टीको केन्द्रदेखि तल्लो तहसम्म नै बिभिन्न नेताहरुका बीचमा रहेका बिवाद सुल्झाएर पार्टीलाई फेरी सशक्त ढंगले अगाडि बढाउन उक्त अभियान सञ्चालनगर्न लागिएको बताइएको छ । हालैको सचिवालय बैठकपछि केन्द्रका अध्यक्ष केपी ओलीको राजीनामा माग्ने र नेताहरुका बीचमा बिवाद बढाउने कार्यको अन्त्यभएको थाहाभएको छ । भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा यही जेठ ८–१० मा बसेको सचिवालय बैठकमा १९ सदस्यमध्ये १५ जना भन्दा बढीले अध्यक्ष ओलीको पक्षमा बोल्नु भएको थियो । अध्यक्ष ओली राजीनामाको माग टार्न सफल हुनुभएको छ । गत १० गते ९ घण्टासम्म चलेको सचिवालय बैठकमा ओलीको सम्बोधनले माहोल सकारात्मक दिशातिर गएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभएको छ ।
अध्यक्ष ओलीले एकता, एकता, महाएकता भन्नुभयो, भियतनामी क्रान्ति तथा आधुनिक भियतनामका संस्थापक नेता हो चि मिन्हको भनाइ उद्धृत गर्नुभएको थियो । अब पार्टीमा खुलेर बहस गरिहाल्यौँ, नयाँ ढंगले पार्टीलाई संगठित र एकताबद्ध गरेर जाऊँ भन्नुभएको थियो । हो चि मिन्हले राष्ट्रिय स्वतन्त्रताको साझा लक्ष्य पूरागर्न सबै वर्ग, धर्म र समुदायबीच एकता हुनुपर्ने विचार अघिसार्नुभएको इतिहास छ । बैठकले पार्टी पुनर्गठन कार्यदल गठन गरेको छ । जसको संयोजक उपाध्यक्ष रामबहादुर थापा रहनुभएको छ ।
त्यसैगरी उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट र सचिवहरु छविराज विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य हुनुहुन्छ । त्यसैगरी प्रदेशका इन्चार्जहरुलाई पनि सदस्य राखिएको छ । ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने र हटाउन चुनौती दिनुभएको छ ।