काठमाडौं,१२ जेठ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको दुरुपयोगगर्दै धरपकड, निगरानी र धम्की दिने कार्य भएकोभन्दै बिभिन्नपत्रकार संघसंगठनहरुले कडा आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, प्रेस चौतारी र समाजवादी प्रेस संगठनले बेग्लाबेग्लै विज्ञप्ति जारीगर्दै पत्रकार श्रेष्ठविरुद्ध भइरहेको योजनाबद्ध घेराबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । संगठनहरुले सत्ताधारी दल र मन्त्रीहरुबारे आलोचनात्मक समाचार लेखेकै कारण पत्रकार श्रेष्ठलाई तारो बनाइएको आरोप पनि लगाएका छन् । नेपाल पत्रकार महासंघले प्रधानमन्त्रीको निर्देशनमा गृहमन्त्रालयमार्फत पत्रकार श्रेष्ठलाई निगरानीगर्ने, धरपकडको प्रयासगर्ने र समाचारको स्रोत खुलाउन दबाब दिने काम भइरहेको उल्लेख गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने यस्तो व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहार हो भनिएको छ । त्यसैगरी प्रेस चौतारी नेपालले राज्य शक्तिको आडमा भइरहेको यस्तो प्रतिशोधपूर्ण कदमको घोर निन्दा गरेको छ ।

महासचिव हिरामान लामाले विज्ञप्तिमार्फत पत्रकार श्रेष्ठले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिनको माग गरिरहँदा उल्टै धम्की र निगरानी बढाउनु सरकारको नियतमाथि नै प्रश्नचिन्ह खडा भएको टिप्पणी गर्नुभएको छ । त्यसैगरी प्रेस सेन्टर नेपालले पत्रकार श्रेष्ठविरुद्ध भइरहेका शंकास्पद गतिविधिबारे ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरले आफ्नो विज्ञप्तिमा पत्रकार श्रेष्ठलाई विदेशी नम्बरबाट धम्कीपूर्ण फोन आउने, कार्यालय परिसरमा मदिराका बोतल र नगद रकम छाडिदिने तथा आर्थिक प्रलोभनमा पार्नेजस्ता गतिविधि भइरहेको उल्लेख गर्नुभएको छ । समाजवादी प्रेस संगठनले पनि सामाजिक सञ्जाल तथा बिभिन्न माध्यममार्फत श्रेष्ठविरुद्ध भइरहेको दुष्प्रचार र धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो संगठनले एक विज्ञप्ति जारीगरी लामो समयदेखि खोजमूलक पत्रकारितागर्दै आउनुभएका पत्रकार श्रेष्ठविरुद्धको योजनाबद्ध षड्यन्त्र होभन्नेमा कुनै द्विविधा नभएको र घटनाक्रम हेर्दा छिमेकी मुलुकसँगको सम्बन्धमासमेत नकारात्मक असर पार्ने देखिने जनाएको छ । अझ किशोर श्रेष्ठलाई पक्राउ गरिने र त्यसका लागि प्रहरी परिचालन गरिसकिएको भनेर तर्साउने प्रयाससमेत गरिएको भन्दै समाजवादी प्रेस संगठनले पत्रकारलाई डर, धम्की, त्रास देखाउने काम तत्काल बन्दगर्न भनेको छ ।