काठमाडौं,१२ जेठ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । तर प्रधानमन्त्रि वालेन्द्र शाहले संसदमा उपस्थित भएर सम्बोधन नगरेसम्म बैठक नचल्ने अवस्था रहेको बिपक्षीहरुले बताएका छन् । बैठक आज मंगलबार बिहान ११ः०० बजे बस्ने कार्यक्रम छ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक–०८१ माथि विचार गरियोस्भन्ने प्रस्ताव प्रस्तुतगर्ने सम्भावित कार्यसूची छ ।
साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकातर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक–०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक–०८३, तथा मतदाता नामावली (पहिलो संशोधन) विधेयक–०८३ माथिको दफाबार छलफल तथा पारित गरियोस्भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ । यसैैबीच प्रधानमन्त्री वालेन्द्र शाहको अनुपस्थितिसँगै गतिरोधमा फसेको संसदको गाँठो फुकाउन सभामुख डोलप्रसाद अर्यालले हिजो सोमबार विपक्षी दलहरुसँग गर्नुभएको वार्ता बिफल भएको थियो ।
सिंहदरबारमा आफ्नै कार्यकक्षमा उनले छुट्टाछुट्टै छलफलगरी आज मंगलबारको बैठक अवरोध नगर्न आग्रह गर्नुभए पनि बिपक्षीहरुले इन्कार गरेका थिए । गत आइतबार चार प्रतिपक्षी दलका प्रमुख सचेतकले आजको संसदको बैठकमा विरोधगर्ने सहमति गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा, एमालेका ऐन महर, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुश्बु ओलीबीच छलफल भएको थियो । सदनमा आजबाट सशक्त ढंगबाट आवाज उठाउने उनीहरुको तयारी छ ।