काठमाडौं, १३ जेठ । गर्मीले बिद्यार्थीहरु कक्षा कोठामै बेहोस हुन थालेका छन् । कैलालीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हुँदा गत सोमबार टीकापुरस्थित कर्णाली माविमा अध्ययनरत चार बिद्यार्थी बेहोस् भएपछि आराम कक्षमा राखेर उपचार गरिएको थियो । हिजो मंगलबार पनि दुई किशोरी बिरामी परेका कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभएको छ । गर्मीले बालबालिका र शिक्षकलाई पठनपाठनगर्न कठीन भएको छ । उहाँ गर्मी बढेपछि बिद्यालयमा बिहानको प्रार्थना बन्द गरिएको छ । एउटै कक्षामा सयौँ बिद्यार्थी छन् । गर्मीले दैनिक रुपमा बिद्यार्थी बिरामी हुन थालेपछि बिरामीलाई आराम कक्षमा आराम गराएर घर पुरयाउने गरिएको बताउनु हुन्छ ।

गर्मी बढेपछि दिउँसोको समयमा बिद्यार्थीलाई अध्ययनमा समेत समस्या हुनथालेको छ । टीकापुरका कतिपय बिद्यालयमा एउटै कक्षामा धेरै बिद्यार्थी संख्या हुने तर पंखा थोरै हुँदा गर्मीमा अध्ययनमा समस्या हुन थालेको उनीहरु बताउँछन् । गर्मीका समयमा विद्युत् अनियमित हुँदा बिद्यार्थीलाई बढी समस्या हुनेगरेको छ । कैलालीको तापक्रम ४० डिग्री सेल्सियस माथि पुगेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका न्याय मौसम विज्ञान सहायक वीरेन्दप्रसाद कुशवाहका अनुसार गत सोमबार कैलालीको तापक्रम ४१.४ डिग्री सेल्सियस मापन भएको थियो भने आइतबार ४० डिग्री सेल्सियस पुगेको थियो । हिजो मंगलबार अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । चालिस डिग्री सेल्सियस माथि तापक्रम पुगेपछि पठनपाठन प्रभावित हुन थालेको छ ।